वासिङ्टन डिसी । रुस–युक्रेन युद्धविरामको बारेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फोन वार्ता भएको छ । अमेरिकाले रुसलाई ३० दिनको युद्धविरामको प्रस्ताव गरेको छ ।
ह्वाइट हाउसका अनुसार दुई नेताबीचको वार्ता मंगलबार साँझ भएको थियो । युक्रेन युद्ध रोक्न दुवै देशले पछिल्लो दुई महिनामा चौथो पटक छलफल गरिरहेका छन् ।
यसअघि फेब्रुअरी १२ मा दुई नेताले फोनमा कुराकानी गरेका थिए, त्यसपछि फेब्रुअरी २७ मा इस्तानबुलमा अमेरिकी र रुसी कूटनीतिज्ञहरूबीच भेटवार्ता भएको थियो । गत बिहीबार, अर्थात् मार्च १३ मा, ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफले मस्कोमा राष्ट्रपति पुटिनलाई भेटेका थिए ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ३० दिने युद्धविराम प्रस्तावमा सहमति जनाइसकेका छन् । रुसले पनि सैद्धान्तिक सहमति जनाएकोे छ ।