काठमाडौं । अनलाइन बाल सुरक्षाको लागि कार्यरत संस्था चाइल्डसेफनेटले मलेसियाली संस्था टेक्निज्मसँगको सहकार्यमा मलेसियामा अनलाइन बाल सुरक्षा कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत मलेसियाका पाँच सय स्कुलहरूमा साइबर सुरक्षाबारे तालिम सञ्चालन गरिने जनाइएको छ ।
चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीका अनुसार संस्थाले नेपालका ४० भन्दा बढी जिल्लामा साइबर सुरक्षाबारे तालिम सञ्चालन गरिसकेको छ । यस वर्षदेखि नेपालबाहिर पनि कार्यक्रम सुरु गरेको हो । चाइल्डसेफनेटद्वारा प्रशिक्षित स्थानीय प्रशिक्षकले चाइल्डसेफनेटका सामग्री प्रयोग गरी मलेसियामा देशव्यापी साइबर सुरक्षा तालिम सञ्चालन गर्नेछन् । यस कार्यक्रमबाट ८० हजारभन्दा बढी प्राथमिक तथा माध्यमिक तहका बालबालिका प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् । साथै, उनीहरूले सुरक्षितरूपमा इन्टरनेट प्रयोग गर्न र अनलाइन यौन शोषणबाट सुरक्षित रहन सिक्नेछन् ।
यसैगरी चाइल्डसेफनेटले मलेसियाको साइबरजाया सहरमा तीनदिने प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिसकेको जनाएको छ, यसले प्रशिक्षकलाई प्रभावकारीरूपमा साइबर सुरक्षाबारे तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक ज्ञान र सीप प्रदान गरेको छ । साथै, दुवै संस्थाले मलेसियाका बालबालिकाहरूको आवश्यकताअनुसार विशेष साइबर सुरक्षा सचेतना सामग्रीहरू संयुक्तरूपमा विकास गरेका छन् । यस्तै, चाइल्डसेफनेटले बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी एक पुस्तक तयार पारेको छ । मले र तमिल भाषामा उपलब्ध हुने यस पुस्तक प्रथम चरणमा ८० हजार प्रति प्रकाशन हुने र मलेसियाभरी वितरण गरिनेछ, यसले बालबालिकाहरू, अभिभावकहरू र शिक्षकहरूलाई सुरक्षितरूपमा डिजिटल प्रविधि प्रयोग गर्न मद्दत गर्नेछ ।