काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले दशकौँ पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बिरहरू समावेश गरी नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबीच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन । क्यालेन्डरमा दशकौँ अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्बिरहरू समावेश गरिएको छ ।
तस्बिरहरूले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरूलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ । क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताए । विगतका वर्षहरूमा क्यालेन्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरू प्रकाशन गर्नेगरेको स्मरण गराउँदै उनले भने, ’नेपालको सर्वाङ्गीण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक छ ग्लोबल आईएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यहरूलाई निरन्तरता दिँदै आएको छ ।’
कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।