काठमाडौं । काठमाडौंको कमलादीमा भाडामा जग्गा लिएर बनाइएको स्काईवाक टावरको नाममा जनता लुट्ने प्रपञ्च सुरु भएको छ ।
कमलादीमा विक्रम सिंहको नाममा रहेको जग्गा भाडामा लिएर बनाइएको ७८.५ मिटर अग्लो स्काईवाकको टावर जमिनको सतहबाट ६५ मिटरको उचाइमा सिसामा हिँड्न मिल्ने गरी बनाइएको टावर हो ।
आकाशमा हिँड्ने मनोरञ्जनात्मक टावर निर्माण गरेको वोन्डर्स नेपाल प्रालिको सातौँ वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेसँगै यसको भविष्य र लगानीको विषयमा चर्चा हुँदै आएको थियो ।
पछिल्लो समय नेपालमा घाटामा रहेका अधिकांश कम्पनीहरु नाफामा रहेको देखाएर कम्पनीको सेयर सर्वसाधारणलाई बेच्ने र लगानीकर्ताहरु आफ्नो लगानीसँगै सेयरमार्फत जनताले गरेको लगानीलाई नाफामा लिएर कम्पनीबाट बाहिरिने चलन चलेको समयमा स्काईवाक सञ्चालकहरुले पनि यही बाटो पछ्यान खोजेको पाइएको हो ।
टावर सञ्चालनताका करिब दुई वर्षअघिसम्म नेतृत्वमा रहेर टावर बनाउन महत्वपूर्ण भूमिका खेलेका केही लगानीकर्ताहरु आम्दानी नहुने देखेर नेतृत्वबाट हटेर नयाँ सदस्यहरु नेतृत्वमा आएसँगै स्काईवाक सञ्चालन गर्दै आएको वोन्डर्स नेपाल प्रालिको सातौँ वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको थियो ।
इलामको कन्यामदेखि धनकुटाको भेडेटारसम्म सरकारी जग्गा भाडामा लिएर स्काईवाक सञ्चालन गरिरहेको यो समूहले लुक्लादेखि चेदिङसम्म केबलकार बनाउने भन्दै काम गर्दै आइरहेको छ ।
साधारणसभामा समेत वित्तीय विवरण सार्वजनिक नगरी लुकाएको यस कम्पनीले सञ्चालन गरेको स्काईवाक टावरमा धरहरा बनेसँगै महँगो शुल्क तिरेर चड्न सर्वसाधारणले अरुचि देखाएपछि सुनसानजस्तै देखिन थालेको छ ।
एक तथ्याङ्कअनुसार डबल बी माइनस रेटिङ पाएको यस कम्पनीले २०२४ मा १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेर छ करोड ६० लाख रुपैया ब्याजबापत भुक्तानी गरेको र चार लाख ७० हजार रुपैयाँ घाटा बेहोरेको पाइएको छ ।
भाडामा जग्गा लिएर सञ्चालनमा रहेको कम्पनीको भाडा अवधिपछिको हैसियत र व्यापार के हो भन्नेसम्म अनिश्चित रहेको अवस्थामा सर्वसाधारणलाई सेयर जारी गरी संथागत लगानीकर्ताहरु भाग्ने त होइनन् ? भन्ने आशंकाबीच कम्पनीका प्रबन्धक निर्देशक विष्णुहरि पाण्डेलाई जिज्ञासाको लागि पटक–पटक फोन सम्पर्क गर्दा उनी आर्थिक दैनिकको सम्पर्कमा आउन चाहेनन् ।
त्यसो त पाण्डे आफैँमा विवादास्पद व्यक्ति हुन् । उनले सञ्चालन गरेको कलेज र एजुकेसन कन्सल्टेन्सीले समेत विद्यार्थीहरु बाहिर पठाउने नाममा दुःख दिनेगरेको आरोप लाग्दै आएको छ । उनले कर छली गरेको, कन्सल्टेन्सीमा आएका केटाकेटीहरुलाई जोडी मिलाएर डिपेन्डेनमा पठाइदिने गरेको लगायतका आरोप पाण्डेलाई लाग्दै आएको छ । पाण्डेलाई लाग्दै आएको आरोपको विषयमा प्रतिक्रिया लिन आर्थिक दैनिकले पटक–पटक फोन सम्पर्क गर्दा समेत उनले आफूलाई लागेको आरोपको खण्डन गर्न चाहेनन् ।