काठमाडौं । निश्चय नै पछिल्ला केही महिनायता निर्यात व्यापार बढेको अवस्था छ । लामो समयपछि निर्यातले केही वृद्धिको आकार लिन लागेको हो । यसलाई सकारात्मक मान्नु पर्छ । तर, निर्यात बढेको भनेर बताइरहँदाको यो समयमा पनि व्यापार घाटाको अङ्क ठूलो छ । चालू आर्थिक वर्षको आठ महिनामा कुल निर्यात व्यापारको अङ्क एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँबराबर पुगको छ । तर यही समयमा आयात भने १० खर्बको हाराहारीमा कायम रह्यो । यसले के बताउँछ भने निर्यातमा ऐतिहासिक मानिने गरी वृद्धि भए पनि त्यसले व्यापार सन्तुलनलाई कायम गर्ने क्षमता राख्दैन । देशको अर्थतन्त्र नै आयातित व्यापारमा निर्भर रहेको अवस्था विद्यमान छ । व्यापार घटेको अवस्थामा अर्थमन्त्रीको निद्रा जान्छ । दुई दिनअघि मात्रै अर्थमन्त्रीले संसद्मा अपेक्षा अनुसार आमदानी नभएको भनेर बताइसकेका छन् । चालू खर्चलाई धान्न पनि ऋण लिनुपर्ने अवस्था कायमै छ । यो भनेको व्यापारले धानेको आर्थिक अवस्था हो ।
उल्लिखित समयमा निर्यातको मात्रा जसरी बढ्यो यो आफैँमा भने एउटा ठूलो उपलब्धि नै हो । एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ निर्यात हुँदा एउटा रेकर्ड पनि कायम भएको छ । भन्सार विभागका अनुसार निर्यात भएको उल्लिखित रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ दशमलव २० प्रतिशत बढी हो । गत वर्ष फागुन मसान्तसम्म कुल एक खर्ब ६१ करोड ७४ लाख रुपैयाँबराबरको निर्यात भएको विभागको भनाइ छ । यो वर्ष विगतका वर्षको यो समयमा भन्दा ५८ अर्ब रुपैयाँले बढेको छ । सार्वजनिक भएका विवरणअनुसार अहिलेको यो निर्यात १६ वर्षअघि २०६४ सालमा ल्याएको तीन वर्षीय अन्तरिम योजनाले परिकल्पना गरेअनुसार रहेको छ । त्यो योजनामा निर्यात मूल्य एक खर्ब पुर्याउने लक्ष्य राखिएको थियो । अहिले आठ महिनामै डेढ खर्बबढीको निर्यात भएको देखियो । त्यस कारण यसलाई उपलब्धिपूर्ण मानिएको हो । गएको पाँच वर्षदेखि सरदरमा वार्षिक एक खर्बभन्दा माथिको अङ्कमा निर्यात भइरहेकोमा यो वर्ष पूरा नहुँदै त्यो रेकर्ड तोडिएको छ । यही रेसियोले निर्यात व्यापार बढेमा निर्यातको मात्रा सवा दुई खर्बभन्दा माथि पुग्ने अनुमान गर्नसक्ने ठाउँ बनेको देखिन्छ ।
अबको चुनौती भनेको यस्तो रेकर्डलाई कायम राख्ने हो । अहिलेको निर्यात व्यापार बढेको ठाउँ छिमेकी देश भारत नै हो र वस्तु पनि सीमित नै छन् । विभागले जानकारी दिएअनुसार तेस्रो मुलुकबाट आयात गरिएको भटमासको तेलको निर्यात बढेको अवस्था छ । उल्लेख भएको चालू वर्षको आठ महिनामा ५१ अर्ब ४७ करोड रुपैयाँको ३४ करोड १९ लाख लिटर कच्चा भटमास तेल आयात भएको छ भने यही फागुनसम्म करिब ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँको २२ करोड ८५ लाख ४७ हजार केजी भटमास तेल निर्यात भएको देखिन्छ । यो ठाउँमा आयात र निर्यात सन्तुलनमा छ तर आयात गरेर निर्यात गर्ने कि परम्परागतरुपका आफ्नै उत्पादनहरू गलैँचा, सूर्यमुखी तेल, अलैँची, चिया र हस्तकला सामग्री आदिको निर्यात बढाउने भन्ने मूल विषयमा परेका अवस्था छ । विभागका अनुसार भटमासको तेल ४७ अर्ब ९४ करोड, सूर्यमुखी तेल सात अर्ब ९८ करोड २३ लाख, अलैँची पाँच अर्ब ८३ करोड ७३ लाख, गलैँचा चार अर्ब ३२ करोड ३९ लाख रुपैयाँको निर्यात भएको देखिन्छ । नयाँ थपिएकामा फलाम तथा फलामजन्य सामग्री तीन अर्ब ५८ करोड ४२ लाख पर्छन् । निर्यातमा यी वस्तुलाई प्रोत्साहन गरियो भने यो वृद्धि स्थायी हुन सक्तछ ।