वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा भएको सडक दुर्घटनामा बेपत्ता रहेका चापाकोट नगरपालिका घर भएर वालिङ–७ केवरेमा बस्दै आएका २८ वर्षीय चालक सुरज थापा घाइते अवस्थामा भेटिएका छन्। दुर्घटनास्थल भन्दा केही पर घाइते अवस्थामा थापा फेला परेको प्रहरीले जनाएको छ। घाइते थापालाई उपचारका लागि अस्पताल लगिएको छ।
गएराति वालिङ नगरपालिका(५ र ७ को सिमाना मझकोटमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो । प्रहरीले दुर्घटनामा वालिङ नगरपालिका(७ हिलेपानीकी ४८ वर्षीया दिलसरा आलेको मृत्यु भएको जनाएको छ। वडा नं। ५ का वडा अध्यक्ष छविलाल आलेले सडक भन्दा झण्डै १५० मिटर तल सवारी साधन देखेपछि प्रहरीलाई खवर गरेको बताए ।
दुर्घटनाग्रस्त अवस्थामा रहेको ग १ ज ७५११ नम्बरको विन्ङ्गर भ्यान कता जाँदै गरेको हो भन्ने नखुलेको प्रहरीको भनाइ छ। प्रहरीले महिला मृत अवस्थामा घटनास्थलमा नै भेटिएको जनाएको छ। चालक फेला परेपछि घटना बारे खुल्ने प्रहरीको भनाइ छ।