कर्जा जति बढ्यो देशका लागि त्यति राम्रो मानिन्छ । ठूलो–सानो जस्तो रकम होस् अर्थात् जे–जति लगानी भएको होस् त्यसले देशको उद्यमशीलतालाई नै बुझाउँछ । त्यसले वस्तु उत्पादनमा आत्मनिर्भरता बढाउँछ भने स्वदेशमै रोजगारीका सम्भवानाहरू पनि प्रकट हुन्छन् । तर यस्तो लगानी भने भइरहेको छैन । कम्तीमा चालू वर्षको प्रारम्भमा नै यता बैंक तथा वित्तीय संस्थाहरू ब्याजको दर घटाएका घटाएकै छन् । अर्कोतर्फ राष्ट्र बैंकले बैंकबाट रकम तान्ने क्रम पनि त्यही रूपमा बढिरहेकै छ । बैंकमा निक्षेपको रकम ठूलो छ । तर कर्जालाई आकर्षित गर्न ब्याजदर निरन्तर घटाइँदा त्यसको मार निक्षेपकर्ताहरूमाथि परिहेको अवस्था छ । अब त त्यसरी ब्याज घटाएर लगानी बढाउने सम्भावना पनि क्षीण हुँदै गएका देखिन्छन् । आफूले राखेका पैसाको दिनप्रतिदिन अवमूल्यन भइरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा हुने रकम घरमा नै थुप्रिन सक्छ । यही क्रममा अर्को एउटा खतरा पनि प्रकट हुँदैछ । त्यो हो, बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जाको मात्रा बढ्दै जानु । अहिले त यो हदसम्मको खराब कर्जा नियति हो कि नियतबाट जन्मिएको हो भनेर प्रश्न नै उठ्न थालेको छ ।
नेपाल राष्ट्र बैंक हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू वर्षको माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको मध्ये खराब ठहर भएका कर्जाको अङ्क दुई खर्ब ६७ अर्ब ३१ करोड ५१ लाख पुगेको छ । व्यक्ति वा संस्थाले कुनै पनि उद्यमका लागि लिएका साढे दुई खर्बभन्दा रुपैयाँका कर्जा खराबमा पर्नु भनेको सामान्य होइन । यसलाई त्यही रूपले लिनुपर्छ । उल्लिखित अङ्क कुल कर्जा प्रवाहको करिब ५ प्रतिशत हो । बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ रहेको विवरणहरूले बताएका छन् । अझ चिन्ताको विषय के हो भने बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा अङ्क प्रत्येक वर्ष बढिरहेको अवस्था छ । जस्तो गएको वर्षको यही अवधिको तुलनामा एक दशमलव १९ प्रतिशत अर्थात् ७७ अर्ब ७० करोड ४६ लाख १९ हजार सात सय रुपैयाँ बढी हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ८३ अर्ब ६५ करोड ९० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा निष्क्रिय कर्जा तीन दशमलव ७३ प्रतिशत अर्थात् एक खर्ब ८९ अर्ब ६२ करोड चार लाख रुपैयाँँ थियो । विवरण भन्छ, २० वटा वाणिज्य बैंकहरूले २०८१ माघ मसान्तसम्म ४८ खर्ब १८ अर्ब ४४ करोड ७० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा चार दशमलव ७३ प्रतिशत अर्थात् दुई खर्ब २७ अर्ब ९१ करोड २५ लाख रुपैयाँँ खराब परिणत भएको देखियो । २०८० माघसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब ९२ अर्ब ९७ करोड ३० लाख रुपैयाँँ प्रवाह गर्दा एक खर्ब ६३ अर्ब नौ करोड ४९ लाख १९ हजार रुपैयाँ खराबमा परिणत भएको थियो । यो भनेको तीन दशमलव ६३ प्रतिशत हो ।
जुनसुकै क्षेत्रमा होस् कुल लगानीको ३० प्रतिशत श्रममा जाने गर्छ । यसबाट उल्लिखित अङ्कको खराब कर्जाले कति संख्याको रोजगारी घट्यो भन्ने देखाउँछ । खराब कर्जा बढ्नुका कारण कि जानीबुझीकन नै त्यस्तो ऋण प्रवाह भएको छ कि मन्दीका कारण उद्योग व्यवसाय चल्न सकेका छैनन् । जे होस् यी दुवै अवस्था देशका लागि खराब नै हुन् । यता बैंकिङ कसुरका घटना पनि बढिरहेका छन् । अर्कोतर्फ सहकारीको रकम अपचलन भएर गएको अङ्क पनि बढिरहेकै छ । करिब तीन खर्बको हाराहारीमा राखिएका रकम अपचलनमा परेका विभिन्न अध्ययनहरूले देखाएका छन् । यी कतै नियत नै खराब भएका हुन् कि भन्ने अनुमान गर्ने पनि ठाउँ छ ।