काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही चैत आठ गते शुक्रबार अनमोल बैंक्वेट, नयाँ बानेश्वर, काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारणसभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेस गरे । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ वार्षिक प्रतिवेदनसहित सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम विद्यमान चुक्तापुँजी चार अर्ब ९५ करोड ३० लाख ६५ हजार दुई सय २४ रूपैयाँको आठ प्रतिशतका दरले हुने ३९ करोड ६२ लाख ४५ हजार दुई सय १८ रूपैँयाँ बराबरको नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसबाहेक विद्यमान चुक्तापुँजीको एक दशमलव २४ प्रतिशतका दरले हुने छ करोड १८ लाख ५८ हजार आठ सय ३२ रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर तथा नगद लाभांश वितरणपश्चात हुने सेयर संरचनाबमोजिम जारी पुँजी र चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब एक करोड ३९ लाख २४ हजार ६५ रूपैयाँ पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आव ०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । यसैगरीे कम्पनीका रजिस्ट्रर्ड कार्यालय काजिकामनपा १०, नयाँ बानेश्वरबाट परिवर्तन गरी काजिकामनपा १ नक्साल, काठमाडौं कायम गरी सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
मन्तव्यकै क्रममा कम्पनीका अध्यक्षले यस कम्पनीको मूल्यमान्यता एवम् अवलम्बन गरिएको कुशल व्यवसायीको नीति संस्थागत सुशासनको सफल कार्यान्वयन तथा कम्पनीमा कार्यरत दक्ष जनशक्तिको कार्यदक्षताले सर्वसाधारण सेवाग्राहीबीच आफ्नो पृथक पहिचान स्थापित गर्न हामी प्रतिबद्ध रहेको जानकारी गराए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले गुणस्तरीय तथा विश्वसनीय व्यवसायको सम्पूर्ण परिसूचकहरूमा निरन्तर वृद्धि गरी आएको छ र आगामी वर्षहरूमा पनि यस कम्पनीलाई गुणस्तरीय तथा दीर्घकालीन व्यवसायमार्पmत जीवन बीमा क्षेत्रमा अलग पहिचान दिलाउने अथक प्रयास रहेको जानकारी गराए । मर्जरमा आएका चुनौतीहरूलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रूपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गरे ।
कम्पनीको आठौं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सेयरधनी महानुभावहरू, उपस्थित अतिथिगण तथा सम्पूर्ण नियमनकारी निकायहरू कम्पनी रजिस्ट्रार कार्यालय, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्डलगायतलाई धन्यवाद ज्ञापन गरी सभाध्यक्षबाट साधारणसभा समापन गरे ।