धनगढी, साउन १३
कैलालीको धनगढीदेखि कैलारी गाउँपालिका जोड्ने हुलाकी सडकको कालोपत्रे ठाउँ–ठाउँमा उप्किँदै गएको छ । हुलाकी सडकअन्तर्गत कैलालीको धनगढी क्याम्पसरोडदेखि कटैनीसम्मको सडक सम्बन्धित कार्यालयलाई हस्तान्तरण नहुँदै ठाउँठाउँमा कालोपत्रे उप्किँदै गएकोे हो ।
सो सडकखण्डमा रहेका केही कल्भर्टमा चिरा समेत परेका छन् । कतिपय कल्भर्टमा चिरा परेर ढलानको सरिया (फलामे छड) बाहिर निस्केको छ । कल्भर्टबाट निस्केका रडका कारण सवारी साधन चलाउन समेत निकै कठिनाई हुने गरेको चालकहरुले बताएका छन् । सो कल्भर्टमा चिरा परेर निस्किएका रडका कारण सो क्षेत्रमा दैनिक दुर्घटनाको जोखिम बढेको स्थानीय रुपमा तामाङले बताइन् ।
धनगढी फूूलबारी सडक खण्डमा पहिलोपटक यात्रा गर्ने सवारी चालकलाई झनै सास्ती हुने गरेको धनगढी वडा नम्बर १५ का कलह चौधरीले बताए । धनगढीबाट फूलबारी–हसुलियातर्फ आउने यात्रुले ठाउठाउमा भत्किएका सडकका कारण निकै कष्ट भएको दुःखेसो गर्ने गरेका छन् ।
हुलाकी सडक कार्यालयले गत भदौमा सडक मर्मताका लागि दुई चरणमा ठेक्का गरिएको थियो । कार्यालयले ३१ किलोमिटर लामो सडक मर्मतको लागि ४० लाख रुपैया बजेट विनियोजन गरेकोमा २४ लाख ५८ हजार चार सय रुपैयाँमा ठेक्का स्वीकृत गरेको थियो । ठेक्का पाएको निर्माण कम्पनीले पिच उक्केका ठाउँमा मर्मत गरेको हुलाकी सडक आयोजनाले जनाएको छ ।
‘पिच उक्केका ठाउँमा निर्माण कम्पनीले मर्मत गरेको थियो । तर, अहिले पुनः अन्य स्थानमा पिच उप्किने क्रम रहेको छ’ आयोजना कार्यालयका सूचना अधिकारी पदम मडैले भने । क्याम्पसरोडदेखि फूलबारीसम्मको १५ किलोमिटर सडक मर्मतका लागि १२ लाख ६२ हजार नौ सय तथा फूलबारीदेखि कटैनीसम्मको सडक मर्मतका लागि ११ लाख ९५ हजार पाँच सय रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
यसैगरी कैलालीको धनगढीदेखि टीकापुरको सत्तीसम्मको ४४ किलोमिटर हुलाकी सडक स्तरोन्नति गर्ने कार्य अघि बढेको छ । हुलाकी सडक आयोजना कार्यालयका अनुसार सडक स्तरोन्नतिअन्तर्गत क्याम्परोडदेखि तीन किलोमिटर चार लेन बनाइनेछ भने अन्य ४१ किलोमिटर सडकलाई दुई लेनका रुपमा स्तरोन्नति गरिने छ । हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी मडैले भने, ‘चार चरणमा ठेक्का गरिएको छ ।’ क्याम्पसरोडदेखि कनरीसम्म ३७ करोड, कनरीदेखि फूलबारीसम्म ३२ करोडको सम्झौता भएको छ ।
यस्तै, कान्द्रा नदीदेखि सत्तीसम्म ३२ करोड ६२ लाखमा सम्झौता गरिएको छ भने फूलबारीदेखि कटैनीसम्म २७ करोड ९६ लाख ७५ हजारमा सम्झौता गरिएको जनाइएको छ । यी सबै सडक तीन वर्षभित्र सम्पन्न गर्ने गरी शौचन्दा जोशी जेभीले ठेक्का सम्झौता गरेको छ । बोलपत्र मंसिरमै जारी गरिए पनि सम्झौता भने असार ३० गतेमात्र भएको थियो । मडैले भने, ‘निर्माण कम्पनिले कार्य अघि बढाउन अहिले सर्भे गरिरहेको छ ।’
उनले हुलाकी सडक अलकत्रा प्रविधिमा निर्माण गरिने बताए । ‘अहिलेको हुलाकी सडकभन्दा नयाँ प्रविधिबाट काम हुनेछ’, उनले भने । धनगढीको क्याम्पस रोडदेखि कटैनीसम्मको ३१ किलोमिटर हुलाकी सडकको चौडाइ अहिले जम्मा तीन दशमलव ७५ किलोमिटर रहेको छ । अहिले नेपाल सरकारबाट निर्माणाधीन हुलाकी सडकको चौडाइ सात मिटर रहेको छ ।