काठमाडौ । सिन्धु विकास बैंकको १४ औं र १५ औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । चैत ८ गते शुक्रबार काभ्रेपलान्चोक जिल्लाको धुलिखेलको मिराबल होटल एन्ड रिसोर्टमा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ । गत आर्थिक वर्षमा विविध कारणले साधारणसभा गर्न नसकेको बैंकले दुई वर्षको वार्षिक साधारणसभा एकै साथ सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरेको छ भने स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्कीको नियुक्तीलाई पनि अनुमोदन गरेको छ ।
सभाको विशेष प्रस्तावअन्तर्गत नेपाल राष्ट्र बैंकले क्षेत्रीयस्तरको विकास बैंकका लागि तोकेको न्यूनतम चुक्ता पुँजी एक अर्ब बीस करोड हुनुपर्ने व्यवस्थाबमोजिम बैंकको हाल कायम रहेको चुक्ता पुँजीको एक सय १६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । नेपाल राष्ट्र बैंकलगायत अन्य नियमनकारी निकायहरूले स्वीकृति प्रदान गरेपश्चात मात्र उक्त हकप्रद सेयर जारी गरिने गरी उक्त प्र्रस्ताव स्वीकृति गरेको हो । सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिसम्बन्धी कार्य गर्न सक्ने गरी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।
सिन्धु विकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, मकवानपुर र चितवन गरी पाँच जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको विकास बैंक हो । बैंकले हाल २६ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा दिइरहेको छ ।