काठमाडौं, साउन १३
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले यही साउन १६ गतेबाट ३३ करोड ९८ लाख ४६ हजार छ सय रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीका अनुसार एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर बिक्री खुला गर्न लागिएको थियो ।
सेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनी कुुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् एक लाख ६९ हजार नौ सय दुुई कित्ता सामूहिक लगानी कोषको लागि, दुुई प्रतिशत अर्थात् ६७ हजार नौ सय ६१ कित्ता कर्मचारीहरूको लागि छुट्टयाइएको छ । यीबाहेकको बाँकी ३१ लाख ६० हजार एक सय ८३ कित्ता सेयर भने सर्वसाधारणको लागि छुट्ट्याइएको छ । सेयर खरिदको लागि सर्वसाधारणहरूले न्यूनतम १० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
अधिकृत पुँजी पाँच अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुँजी भने एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी ७९ करोड २८ लाख ७७ हजार पाँच सय रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ पुुग्नेछ । कम्पनीका अनुसार साउन १६ गतेबाट खुला हुुने साधारण सेयरको बिक्री कार्य छिटोमा साउन २१ गते तथा ढिलोमा भदौ तीन गते बन्द हुुनेछ ।