काठमाडौं । नेपाल बैंकर्स संघले विभिन्न कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ । नेपाल बैंकर्स संघ, बागमती प्रदेश (चितवन) समितिले हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा मार्च १७ देखि २३ सम्म साताव्यापीरूपमा मनाइने ग्लोबल मनी विक–२०२५ थिङ्क बिफोर यु फलो, ब्वाइज मनी टुमारो भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरू आयोेजना गरी मनाएको हो ।
यसै सन्दर्भमा उक्त कार्यक्रममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको सहभागितामा युवा वर्गमा वित्तीय साक्षरता र सचेतना बढाउने उद्देश्यसहित शुक्रबार एक बृहत् र्याली आयोजना गरिएको संघले जानकारी दिएको छ । यसका साथै वित्तीय साक्षरताको प्रबर्द्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू पनि आयोेजना गरिएको थियो ।
बढ्दो डिजिटल प्रविधिको प्रयोग, त्यसले निम्ताएको चुनौतीको सामना गर्नुका साथै अहिलेको युवापुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रमहरू महत्वपूर्ण हुने गरेका छन् । अर्गनाईजेसन फर इकोनोमिक एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापीरूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । यस अभियानबाट हालसम्म विश्वका एक सय ७६भन्दा बढी मुलुकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओईसीडीले जनाएको छ ।