काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार पछिल्लो आठ महिनामा सेयर कारोबार दुई सय ५० प्रतिशतले बढेको छ । २०८१ साउनदेखि फागुनसम्म १४ खर्ब ५५ अर्ब ८६ करोडबराबरको तीन अर्ब २५ करोड ९४ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई सय ५० दशमलव १५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो आठ महिनामा चार खर्ब १५ अर्ब ७८ करोडबराबरको एक अर्ब २५ करोड ७४ लाख ३० हजार कित्ता सेयर किनबेच भएको थियो ।
पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार बढ्दा कारोबार रकममा अत्यधिक वृद्धि देखिएको नेप्सेका अधिकारीहरू बताउँछन् । नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार गत वर्ष फागुन महिनाको तुलनामा यस वर्ष फागुनसम्म नेप्से करिब आठ सय अङ्कले बढेको छ । २०८१ फागुन मसान्तमा नेप्से परिसूचक दुई हजार आठ सय नजिक थियो भने गत वर्ष फागुन मसान्तमा दुई हजार एक सय हाराहारी थियो । चालू आर्थिक वर्षको आठ महिनामा सबैभन्दा बढी जलविद्युत् समूहको सेयर कारोबार हुँदा सबैभन्दा कम डिबेन्चर समूहको रहेको छ ।
चालू आर्थिक वर्षको पहिलो आठ महिनामा जलविद्युत् समूहका कम्पनीहरूको चार खर्ब ९३ अर्ब ५७ करोड, वित्त समूहका कम्पनीहरूको एक खर्ब ५२ अर्ब ३३ करोड, वाणिज्य बैंकहरूको एक खर्ब ४२ अर्ब ७३ करोड, विकास बैंकहरूको एक खर्ब १६ अर्ब ४३ करोड, लगानी समूहहरूको एक खर्ब दुई अर्ब ८२ करोड र लघुवित्तहरूको एक खर्ब दुई अर्ब ५९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री गरिएको हो । यस्तै, अन्य समूहको ८७ अर्ब ६६ करोड रुपैयाँ, जीवन बीमाको ८१ अर्ब ७२ करोड, उत्पादन र प्रशोधनको ५८ अर्ब ८५ करोड, निर्जीवन बीमाको ५९ अर्ब ७० करोड र होटल र पर्यटन समूहको २७ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यस्तै, व्यापार समूहको चार अर्ब ९१ करोड रुपैयाँ, म्युअुचल फन्ड तीन अर्ब ७३ करोड र डिबेन्चर दुई अर्ब ३० करोड रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।
समीक्षा अवधिमा जलविद्युत् समूहका कम्पनीको एक अर्ब २५ करोड ५९ लाख, वित्तको १९ करोड ८३ लाख, वाणिज्य बैंकको ४७ करोड ६२ लाख, विकास बैंकको १९ करोड ४३ लाख, लगानी समूहको १५ करोड ७५ लाख र लघुवित्तको आठ करोड ५१ लाख, अन्य समूहको नौ करोड ६६ लाख, जीवन बीमाको १२ करोड ६४ लाख, उत्पादन र प्रशोधनको आठ करोड १९ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको हो । साथै निर्जीवन बीमाको छ करोड ९२ लाख र होटल र पर्यटन समूहको तीन करोड ४९ लाख, संस्थापक सेयरको १० करोड ३९ लाख, व्यापार समूहको आठ लाख ४१ हजार, म्युअुचल फन्डको ३७ करोड ५६ लाख र डिबेन्चरको २१ लाख २८ हजार कित्ताभन्दा बढी सेयर किनबेच भएकोे छ ।
गत आर्थिक वर्षको सोही अवधिमा पनि सबैभन्दा बढी जलविद्युत् समूहको सेयर कारोबार हुँदा सबैभन्दा कम डिबेन्चर समूहको रहेको थियो । समीक्षा अवधिमा जलविद्युत् एक खर्ब २५ अर्ब ४९ करोड, वाणिज्य बैंकको ४६ अर्ब ३६ करोड, जीवन बीमाको ४० अर्ब ९२ करोड, उत्पादन र प्रशोधनको ३६ अर्ब ५७ करोड, अन्य समूहको २६ अर्ब २९ करोड, निर्जीवन बीमोको २६ अर्ब ६३ करोड, लगानीको २५ अर्ब १२ करोड र विकास बैंक २१ अर्ब ११ करोडबराबरको सेयर खरिदबिक्री भएको थियो । समीक्षा अवधिमा लघुवित्तको २० अर्ब ४६ करोड, वित्तको १६ अर्ब ९५ करोड, होटल र पर्यटनको १५ अर्ब २२ करोड, संस्थापक सेयरको नौ अर्ब ५४ करोड, व्यापारको दुई अर्ब ६६ करोड, म्युअुचल फन्डको एक अर्ब २५ करोड र डिबेन्चरको एक अर्ब १२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
समीक्षा अवधिमा जलविद्युत्को ४५ करोड १९ लाख, वाणिज्य बैंकको १७ करोड ३८ लाख, जीवन बीमाको सात करोड ५९ लाख, उत्पादन र प्रशोधनको छ करोड ३१ लाख, अन्य समूहको चार करोड १४ लाख, निर्जीवन बीमोको तीन करोड ९४ लाख, लगानीको पाँच करोड ६५ लाख र विकास बैंकको पाँच करोड ९९ लाख कित्ता सेयर खरिदबिक्री भएको थियो । साथै लघुवित्तको दुई करोड ५९ लाख, वित्तको चार करोड २७ लाख, होटल र पर्यटनको दुई करोड ६१ लाख, संस्थापक सेयरको पाँच करोड ५६ लाख, व्यापारको पाँच लाख १९ हजार, म्युअुचल फन्डको १४ करोड ३० लाख र डिबेन्चरको ११ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो । समीक्षा अवधिमा सेयर खरिदबिक्री बढ्नुमा भने सेयरबजारमा लगानीकर्ताहरूको संख्या बढ्दै जानु र दोस्रो बजारमा समेत संलग्नातामा भएको वृद्धिदर रहेको नेप्सेका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार सेयरबजारमा गरेको लगानीमार्फत आम्दानी गर्न सकिने विश्वास भएसँगै यसको बजार बढेको हो ।