काठमाडौ । नेपाली पर्यटन उद्योगको कुरो गर्दा चालू वर्ष (सन् २०२५) को दुई महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् २०२४ को दुई महिनामा आएका विदेशी पर्यटकभन्दा तीन सय ४५ जना बढी संख्या रहेको थियो र छ । भनाइको अर्थ सन् २०२४ को दुई महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या एक लाख ७६ हजार पाँच सय २६ जना रहेको थियो भने सन् २०२५ को दुई महिनामा नेपाल आएका विदेशी पर्यटकको संख्या एक लाख ७६ हजार आठ सय ७१ रहेको छ ।
यसरी हेर्दा समग्रमा विश्व पर्यटन क्षेत्रले बिस्तारैबिस्तारै गति लिएझैँ नेपाली पर्यटनले पनि आप्mनै ढंगले गति लिँदै गएको छ । अर्थात्, नेपाली पर्यटनले कोभिड–१९ (कोरोना महामारी)अघिको स्थितिमा पुग्नै आँटेको छ । तथ्य–तथ्याङ्कको आधारमा भन्नुपर्दा नेपाली पर्यटन अवस्था कोभिड–१९ (कोरोना महामारी) अघिको स्थितिमा पुग्न अब तीन प्रतिशतजति मात्रै बाँकी रहेको छ । तर, समग्रमा हेर्दा विश्व पर्यटनको अवस्था कोभिड–१९ (कोरोना महामारी)अघिको स्थितिमा पुग्न लगभग एक प्रतिशत मात्रै बाँकी रहेको छ ।
यसै सन्दर्भमा भन्नुपर्दा विगत १० वर्षसम्म वार्षिकरूपमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटक संख्या कति पुग्यो अनि विगत १० वर्षसम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट नेपाल सरकारले वार्षिकरूपमा कति आम्दानी गर्यो ? सो सम्बन्धमा पाठकहरूमा धेरथोर जिज्ञासा हुन सक्छ । त्यसैले गर्दाखेरि यो लेखमा चाहिँ विगत १० वर्षसम्म नेपालमा वार्षिकरूपमा भ्रमण गर्न आएका समग्र विदेशी पर्यटकको संख्या एवं उनीहरूबाट नेपाल सरकारले गरेको वार्षिक आम्दानीको सूची क्रमशः उल्लेख गरिएको छ ।
विगत १० वर्षमा वार्षिकरूपमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटक संख्या:
१. सन् २०१५ पाँच लाख ३८ हजार जना ।
२. सन् २०१६ मा सात लाख ५३ हजार जना ।
३. सन् २०१७ मा नौ लाख ४० हजार जना ।
४. सन् २०१८ मा ११ लाख ७३ हजार जना ।
५. सन् २०१९ मा ११ लाख ९७ हजार जना ।
६. सन् २०२० मा दुई लाख ३० हजार जना ।
७. सन् २०२१ मा एक लाख ५१ हजार जना ।
८. सन् २०२२ मा छ लाख १४ हजार जना ।
९. सन् २०२३ मा १० लाख १४ हजार जना ।
१०. सन् २०२४ मा ११ लाख ४७ हजार जना ।
(नोटः नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको १० वर्षे वार्षिक संख्या उल्लेख गर्दा सयका संख्याचाहिँ छुटेका/छुटाइएका छन् । तथ्यांक स्रोतः कारोबार दैनिक)
त्यस्तै, गरेर विगत १० वर्षमा नेपाली पर्यटन क्षेत्रमा वार्षिकरूपमा कुन वर्ष कति कमाइ भयो ? विगत १० वर्षमा पर्यटन क्षेत्रमा वार्षिकरूपमा भएको कमाइको सूची:
१. सन् २०१४–१५ मा ५३ अर्ब ४२ करोड नेपाली रूपैयाँ बराबार विदेशी मुद्राआर्जन भएको थियो भने उक्त वर्ष अमेरिकी डलरको सटही दर एक अमेरिकी डलर बराबर ९९ दशमलव ५ नेपाली रूपैयाँ रहेको थियो ।
२. सन् २०१५–१६ मा ४१ अर्ब ७६ करोड ४२ नेपाली रूपैयाँ बराबार विदेशी मुद्राआर्जन भएको थियो । उक्त वर्ष अमेरिकी डलरको सटही दर एक अमेरिकी डलर बराबर एक सय छ दशमलव शून्य छ नेपाली रूपैयाँ रहेको थियो ।
३. सन् २०१६–१७ मा चाहिँ पर्यटन क्षेत्रबाट ५८ अर्ब ५२ नेपाली रूपैयाँ बराबार विदेशी मुद्राआर्जन भएको थियो । उक्त वर्ष अमेरिकी डलरको सटही दर एक अमेरिकी डलर बराबर एक सय छ दशमलव शून्य दुई नेपाली रूपैयाँ रहेको थियो ।
४. सन् २०१७–१८ मा ६८ अर्ब ५२ नेपाली रूपैयाँ बराबार विदेशी मुद्राआर्जन भएको थियो भने उक्त वर्ष अमेरिकी डलरको सटही दरचाहिँ एक अमेरिकी डलर बराबर एक सय छ दशमलव शून्य चार नेपाली रूपैयाँ रहेको थियो ।
५. सन् २०१८–१९ मा सात अर्बले बढेर ७५ अर्ब ३७ करोड नेपाली रूपैयाँ बराबार विदेशी मुद्रा आर्जन भएको थियो । उक्त वर्ष अमेरिकी डलरको सटही दर एक अमेरिकी डलर बराबर एक सय १२ दशमलव शून्य नौ नेपाली रूपैयाँ रहेको थियो ।
६. सन् २०१९–२० मा चाहिँ १५ अर्बले घटेर ६० अर्ब ८८ करोड नेपाली रूपैयाँ बराबर विदेशी मुद्रा मात्रै आर्जन भएको थियो । उक्त वर्ष अमेरिकी डलरको सटही दर भने बढेर एक अमेरिकी डलर बराबर एक सय १६ दशमलव शून्य नेपाली रूपैयाँ रहेको थियो ।
७. सन् २०२०–२१ मा त पर्यटनबाट भएको आम्दानी ५३ अर्बले घटेर केवल सात अर्ब २६ करोड नेपाली रूपैयाँ बराबार विदेशी मुद्रा मात्रै आर्जन भएको थियो । उक्त वर्ष अमेरिकी डलरको सटही दर भने बढेर एक अमेरिकी डलर बराबर एक सय १७ दशमलव शून्य नौ नेपाली रूपैयाँ रहेको थियो ।
८. सन् २०२१–२२ मा पर्यटनबाट हुने आय २५ अर्बले बढेर ३२ अर्ब ४४ करोड नेपाली रूपैयाँ बराबर विदेशी मुद्रा आर्जन भएको थियो । सो वर्ष अमेरिकी डलरको सटही दर बढेर एक अमेरिकी डलर बराबर एक सय २० दशमलव ०८ नेपाली रूपैयाँ रहेको थियो ।
९. सन् २०२२–२३ मा पुनः ३१ अर्बले बढेर ६१ अर्ब ५२ करोड नेपाली रूपैयाँ बराबर विदेशी मुद्रा मात्रै आर्जन भएको थियो । उक्त वर्ष अमेरिकी डलरको सटही दर पनि बढेर एक अमेरिकी डलर बराबर एक सय ३० दशमलव शून्य सात नेपाली रूपैयाँ रहेको थियो ।
१०. सन् २०२३–२४ मा चाहिँ नेपाली पर्यटन क्षेत्रबाट हुने आम्दानी ७६ अर्ब ५५ करोड पुग्ने वा भनौं रहने अनुमान गरिएको थियो र छ । सन् २०२४ सकिएको दुई महिना बितिसकेको हुनाले चाँडै आउला भन्ने आशा गरौँ । (तथ्याङ्क स्रोतः नेपाल सरकार पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागद्वारा प्रकाशित ‘नेपाल टुरिज्म स्टाटिस्टक’ नामक किताब ।)
यसरी समग्र विश्व पर्यटन आगमनको तथ्याङ्क हेर्दाखेरि कोरोना महामारी (कोभिड–१९) पछि लगातार बढेकोबढ्यै छ । हुन त सन् २०२० (कोभिड–१९) नभई दिएको भए अनि समय र परिस्थिति ठीकठाक ! भएको भए नेपालमा अहिले (सन् २०२५ मा आइपुग्दा) कम्तीमा पनि वार्षिकरूपमा १८–१९–२० लाख विदेशी पर्यटक भित्र्याइरहेका हुने थियौं कि ? हुन त सन् २०२० मै २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको थियो । त्यसका लागि नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा पनि गरेको थियो । तर (कोभिड–१९) को व्यापक असरका कारण विश्वका प्रायः सबै देशले आप्mनो देशमा विदेशीलाई भ्रमण गर्नमा प्रतिबन्ध लगाएसँगै नेपाल सरकारले पनि ढिला गरी ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई स्थगन गरेको थियो । जे भए पनि अहिले नेपालमा मात्रै नभएर समग्रमा विश्वभरि नै पर्यटनले सकारात्मक ढंगले विस्तारै गति लिँदै गएको छ ।