काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आइतबार राष्ट्रिय विज्ञापन संघको दोस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकूल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताएका हुन् ।
सूचना प्रविधिको विकास बढ्दै गए पनि ऐन र कानुन पुरानै प्रवृत्तिमा रहेकाले कार्यान्वयनमा समस्या आएको मन्त्री गुरुङले बताए । मन्त्रालयले आफ्नो मातहतमा रहेका सबै निकायलाई चुस्त बनाउन आवश्यक ऐन र नीति परिमार्जन गर्नतर्फ केन्द्रित रहेको पनि मन्त्री गुरुङले जानकारी दिए ।
कार्यक्रममा वक्ताहरूले उठाएको मदिराजन्य विज्ञापनमा सरकार खुकुलो हुनुपर्ने मागमाथि मन्त्री गुरुङले सरोकारवालासँग छलफल गरेर लचिलो हुन सकिने बताए । त्यसैगरी, पछिल्लो समय विज्ञापन बजार खुम्चिँदै गएको र मिडिया सञ्चालक बढ्दै गएकाले विज्ञापन व्यवस्थापनप्रति सरकार संवेदनशील रहेको पनि उनले प्रष्ट पारे ।
विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन बजार घट्न नदिन सरकारले स्पष्ट नीति तत्काल ल्याउनुपर्नेमा जोड दिए । विज्ञापन बजार पारदर्शी बनाउन विज्ञापन एजेन्सीहरूको पनि साथ चाहिने उनले बताए । कार्यक्रममा बोल्दै मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले विज्ञापन बजार घटेर २० प्रतिशतमा झरेकाले यसलाई बचाउन राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले विज्ञापन, मिडिया हाउस र श्रमजीवी पत्रकार एकअर्कासँग अन्तरसम्बन्धित रहेको हुँदा पत्रकारको रोजगारसँग जोडिएको विज्ञापन नीति सबैका लागि महत्वपूर्ण रहेको बताए ।