नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार चिलीका राष्ट्रपति गेब्रियल बोरिक फोन्तसँग हैदराबाद हाउसमा भेटवार्ता गरेका छन् । संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले आतङ्कवाद र संगठित अपराधको सामना गर्न दुवै देशले सहकार्यलाई अझ प्रगाढ बनाउने बताए ।
प्रधानमन्त्री मोदीले भने, ‘हामी रक्षा उद्योग निर्माण तथा आपूर्ति शृङ्खला एक–अर्काका आवश्यकताअनुसार अघि बढाउनेछौँ । संगठित अपराध, लागुऔषध तस्करी र आतङ्वादविरुद्ध दुई देशका निकायहरूबीच सहकार्य बढाउने छौँ ।’
उनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् (यूएनएससी) र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सुधार आवश्यक रहेकोमा पनि जोड दिए । ‘वैश्विक चुनौतीहरूको सामना गर्न यूएनएससी तथा अन्य संस्थाहरूमा सुधार आवश्यक छ । हामी मिलेर विश्व शान्ति र स्थायित्वमा योगदान दिन्छौँ,’ उनले भने ।
प्रधानमन्त्री मोदीले भारत र चिली भौगोलिकरूपमा टाढा भए पनि दुवै देश प्रकृतिद्वारा एक–अर्कासँग जोडिएको बताए । ‘भारत र चिली फरक महाद्वीपमा भए पनि हिमालय र एन्डीज पर्वतहरूले हाम्रो सभ्यता निर्माण गरेका छन् । भारतीय महासागरको छालहरूजस्तै प्रशान्त महासागरको छालहरू चिलीको किनारामा उस्तै तरङ्गित छन्’, उनले भने ।
उनले चिलीमा भारतीय चलचित्र र संस्कृतिप्रति बढ्दो रुचि सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण सङ्केत भएको बताए । ‘भारत र चिली प्रकृतिले मात्र होइन, संस्कृतिले पनि जोडिएका छन् । भारतीय चलचित्र र शास्त्रीय नृत्यप्रति चिलीका जनताको चासो हाम्रो सांस्कृतिक सम्बन्धको प्रमाण हो । आज सम्पन्न सांस्कृतिक आदानप्रदान कार्यक्रमको सम्झौताले यस सम्बन्धलाई थप बलियो बनाउनेछ’, उनले भने ।
प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई अझ सहज बनाउन भिसा प्रक्रिया सरल पार्ने र विद्यार्थी आदानप्रदान कार्यक्रम विस्तार गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।‘हामी दुई देशबीचको भिसा प्रक्रिया अझ सरल बनाउनेछौँ । साथै, भारत र चिलीबीच विद्यार्थी आदानप्रदान कार्यक्रमलाई प्रवर्द्धन गर्न निरन्तर प्रयास गर्नेछौँ ।’ रासस/एएनआई