२०७५ मंसिरदेखि सुरु भएको सामाजिक सुरक्षा कोषप्रति पछिल्लो समय आकर्षण बढ्दै गएको देखिएको छ । अनौपचारिक क्षेत्रतर्फका श्रमकर्ताहरूको बचत संकलन र सोअनुसार उनीहरूको योगदानले आफैँलाई लाभ दिलाउने प्रकृतिको सामाजिक सुरक्षा कोषप्रति आकर्षण बढेको हो ।
औपचारिक सेवामा रहेकाहरू कोष रहेकोजस्तै अनौपचारिक क्षेत्रका सेवाकर्ताहरूको बचत र सोअनुसारको सामाजिक सुरक्षा दिलाउनका लागि कोष खडा भएको हो । यसमा आबद्धता जनाउन सरकारले स्वदेशमा रहेका तर सञ्चय कोषको जस्तो चाहेर पनि आफ्नो रकम बचत गर्ने र त्यसबाट आफूलाई आवश्यक परेका बेलामा सहयोग प्राप्त गराउने निकाय यसअघि थिएनन् । पछिल्लो समय भने कोषमार्फत स्वदेशमा रहेका र वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गराउन थालेपछि यसप्रति आकर्षण बढ्न थालेको पाइएको हो । पछिल्लो जानकारीअनुसार औपचारिक/अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउन थालिएपछि कोषमा जम्मा हुने रकमको समेत वृद्धि हुँदै गएको देखियो भने कोषमा आबद्ध भएकाहरूले आफ्ना घरायसी काममा यसको सहयोग लिनेहरूको संख्या पनि बढ्दै गएको देखियो ।
स्थापनाको छोटै समयमा कोषमा झण्डै खर्बको हाराहारीमा रकम संकलन भएको स्थिति छ । कोषका अनुसार हालसम्म ७७ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ योगदान रकम संकलन भएको छ । जो यसप्रति आकर्षण बढेको अवस्था हो । गएको असार मसान्तसम्म कोषमा ५८ अर्ब २९ करोड रुपैयाँ संकलन भएको थियो भने त्यसयताको नौ महिनामा १९ अर्ब दुई करोड ८६ लाख थपिनु भनेको श्रमिकहरूले यसलाई रुचाएकै बुझाउँछ ।
कोषका अनुसार मासिक दुई अर्ब हाराहारी योगदान कोषमा संकलन हुँदै आएको छ । गत पुस महिनासम्म ७१ अर्ब ९५ करोड योगदान रकम संकलन भएकोमा माघमा ७३ अर्ब ८३ करोड रुपैयाँ र फागुनमा ७५ अर्ब ७० करोड रुपैयाँ पुगेको थियो । कोषका प्रवक्ताका अनुसार कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा भारी वृद्धि हुँदैछ छ भने त्यहीअनुसार रकम पनि बढ्ने भयो नै । यसमा सूचीकृत भएकामध्ये ठूलो संख्या औपचारिक, वैदेशिक, अनौपचारिक र स्वरोजगार रहेका अवस्था छ भने पाँच लाख ७३ हजार १५ जना योगदानकर्ता र २० हजार तीन सय २५ जना रोजगारदाता यसमा आबद्ध भइसकेको देखियो ।
यो अवधिमा औपचारिक क्षेत्रबाट ६० अर्ब ७७ करोड २० लाख र वैदेशिक रोजगारीको क्षेत्रबाट दुई अर्ब ३२ करोड २० लाख रुपैयाँ, अनौपचारिक ३३ लाख ६८ हजार र स्वरोजगारमा रहेका ५१ लाख ८७ हजार रुपैयाँ कोषमा आएको छ । सुरुका वर्षहरूमा यसप्रति कोही आबद्ध नै हुन चाहँदैन थिए । एउटा त कोषको उद्देश्य वायसबाट लिन सकिने लाभका बारेमा पर्याप्त ज्ञान दिलाउन नसक्नु एउटा कारण हुनुपर्छ भने अर्को राज्यका निकायहरूप्रति त्यति विश्वास गर्न नसकिएको अवस्था पनि यसमा जोडिन्छ । पछिल्लो समय जम्मा भएको रकमको अंक हेर्दा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरू बचत गर्नमा आकर्षित हुन थालेको नै भन्नुपर्छ जो राम्रो पक्ष हो ।
कोषकै भनाइमा यसभित्र औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजना अन्य सामाजिक सुरक्षा योजना आदि पर्छन् । श्रमिकहरूको दुःखद् पक्ष भनेको उनीहरूको श्रम छुटेको दिन सबै कुरा छुट्ने हुन्थ्यो । अबचाहिँ उनीहरू केही हदसम्म सुरक्षित रहेको भन्न सकिने ठाउँ बनेको भनिँदा अत्युक्ति नहोला ।