काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले यही चैत २५ गतेदेखि ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक सात प्रतिशत व्याजदरमा ‘सात प्रतिशत एनआईसी एसिया डिबेञ्चर २०९१’ को बिक्री खुला गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरको पाँच अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् एक लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा २८ गते हुनेछ भने ढिलोमा २०८२ वैशाख आठ गते हुनेछ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी आश्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई आइआरएन इस्युअर रेटिङ ट्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्छ । सो ऋणपत्रमा आर्जित व्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जानकारी दिएको छ ।