काठमाडौं ,काठमाडौं महानगरपालिका मेयर (प्रमुख) बालेन (बालेन्द्र) शाहको हर्कतविरुद्ध एक जना वडा अध्यक्षबाहेक सबै जनप्रतिनिधि र कर्मचारीहरूले संगठितरूपमा विद्रोह गरेका छन् । व्यक्तिगत स्वार्थपूर्ति हुन नसकेपछि मेयर शाहले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भ्रष्ट भन्दै अप्रमाणित कुरा गरेर एक सय दुई दिनसम्म कार्यालय प्रवेश गर्न दिएका थिएनन् । तर बालेन र उनको सचिवालयले ताला लगाएर बन्द गरेको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला उपमेयर सुनिता डंगोल नेतृत्वको टोलीले एक सय तीन दिनको दिन बिहीबार फोडेर प्रशासकीय अधिकृत गुरागार्इँलाई हाजिर गराए ।
मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागार्ईँलाई भ्रष्ट प्रमाणित गर्न छानबिन समिति गठन गरेका थिए । उक्त समितिले मेयर शाहले भनेको जस्तै प्रतिवेदन तयार नगरेपछि आफूनिकटका कर्मचारी प्रयोग गरेर टिप्पणी लेखेर प्रशासकीय अधिकृत गुरागार्इँलाई हटाउन सुझाव दिन लगाएका थिए । तर, सो टिप्पणी उठाउनेहरूले पनि गुरागाईँलाई भ्रष्ट प्रमाणित गर्न सकेको थिएन । मेयर शाहले छानबिन समितिको म्याद नै थप नगरीदिँदा समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन नै पाएको थिएन । प्रतिवेदन नआएपछि मात्र उनले टिप्पणी उठाउने समितिमार्फत प्रशाकीय अधिकृत गरागाईँलाई हटाउने अन्तिम प्रयास गरेका थिए । तर, संघीय सरकारले मेयरको कुरा मानेर नयाँ अधिकृत नपठाएपछि उनले आर्थिक अधिकार दोस्रो तहको कर्मचारीलाई दिनको लागि प्रदेश सरकारसँगलाई पनि पत्राचार गरेका थिए । तर, उक्त पत्राचारअनुसार पनि अधिकार नपाएपछि बालेन पछिल्लो समयमा आक्रोशित बनेर छाडा शब्दमा फेसबुक स्टाटस लेख्न थालेका थिए ।
महानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदन दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बारम्बार ताकेता गर्दा पनि प्रमुख शाहले दिन सकेनन् । त्यसपछि पनि उपमेयर र अन्य जनप्रतिनिधि तथा कर्मचारीहरू मौन नै बसेका थिए । तर, तीन महिनाभन्दा बढी समयसम्म कर्मचारीले तलब नै खान नपाएपछि बिहीबार बाध्य भएर संगठित विद्रोह गरेका हुन् । कर्मचारीहरूको विद्रोहमा रास्वपाबाट निर्वाचित १६ नम्बर वडाकी वडाअध्यक्ष रजनी श्रेष्ठबाहेक सबैजसो सहभागी दिए ।
बालेनको बफादार महानगरका प्रहरीहरूले भने ताला खोल्ने उपमेयरसहित जनप्रतिनिधि र कर्मचारीहरूको प्रतिवादको असफल प्रयास गरेका थिए । उपमेयर डंगोल नै नेतृत्व लिएर अगाडि बढेपछि कर्मचारीहरूले साथ दिएका थिए । कर्मचारीको साथपछि कार्यालयबाट निस्किएको एक सय तीन दिनको दिन प्रमुख प्रशासकीय अधिकृत आफ्नो कार्यकक्षमा प्रवेश गरी हाजिर गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरेसँगै अब महानगरका कर्मचारीहरूले रोकिएको सबै तलब र भत्ता पाउनेछन् । उपमेयरको टोली ताला खोल्न जाँदा बालेनप्रति बफादार महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको प्रहरी टोलीले प्रतिकार गर्ने प्रयास गर्दैगर्दा उपमेयरले मेयरको लिखित आदेश देखाउन भनेकी थिइन् ।
त्यसको जवाफ नआएपछि प्रहरी पछि हट्न बाध्य भएका थिए । प्रमुख प्रशाकीय अधिकृतको पुनः हाजिरीसँगै अब रोकिएका सबै अगाडि बढ्नेछन् । खासगरी कर्मचारी प्रशासनले कार्यकारी नहुँदा ठूलो पीडा भोग्दै आएका थिए । प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षभित्र पस्नै लाग्दा कर्मचारीहरूले नाराबाजी गर्दै स्वागत गरेका थिए । आफैँले हटाउन दबाब दिएका कार्यकारी अधिकृतलाई महानगरका कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा पु¥याउँदा मेयर शाह भने काठमाडौं उपत्यकामा छैनन् । कार्यकारी अधिकृतको पुनर्बहालीको बारेमा बालेनले कतै केही बोलेका छैनन् । साना–साना विषयमा पनि स्टाटस लेखेर चर्चामा आउने गरेका मेयरले प्रमुख प्रशाकीय अधिकृतको विषयमा बिहीबार रातिसम्म केही बोलेका छैनन् । मेयर शाह बोले पनि नबोले पनि उनले दादागिरी गरेको देखिन्छ । र उक्त दादागिरी महानगरमा तोडिएको छ । बालेनले जे भने त्यही कानुन हुने भन्ने परम्परा पनि अब तोडिन पुगेको छ । यदि बालेनले भनेको जस्तै विनाआधार प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने हो भने देशभर भाँडभैलो मच्चिने थियो ।