काठमाडौं ।संसारकै शक्तिशाली देश अमेरिकाको नीति र निर्णयहरू अहिले जताततै चर्चामा छन् । पछिल्लो समय नेपालले पाएका सहयोग पनि कटौतीमा परे । त्यति हुँदाहुँदै पनि सबैभन्दा ठूला अनुदानको लगानी करिब एक महिना स्थगन भएर वा अन्यौलमा परेर फेरि सञ्चालनमा आउने भएको छ । खासगरी विद्युतीय प्रसारण लाइन र त्यसमा पनि छिमेकी दुई देशबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण हुने मानिएका परियोजना एक्कासी बन्द हुन पुग्दा वास्तवमा नै अप्ठेरो पर्ने अवस्था आइसकेको थियो ।
करिब एक खर्बको लगानी हुने उक्त परियोजनामा नेपालको भाग एकतिहाइ मात्रको थियो । त्यसमाथि प्राप्त हुने यो सहयोग अनुदानको थियो । जतात्यतै अनुदान घट्दै रहेको अवस्थामा यो परियोजनाबाट अमेरिकाले पूरै हात झिकेको भए नेपाललाई नोक्सानी नै हुन्थ्यो । त्यस्तो बेला अर्को स्रोत जुटाउनुपर्ने हुन्थ्यो । यो संकटबाट भने राहत मिलेको छ । यसपछि अर्को विषय प्रकट भयो । अमेरिका प्रवेश गर्ने अन्य देशका सामानहरूको भारी मात्रामा कर वृद्धि भएको छ । त्यसमा नेपाल पनि परेको छ, जसले नेपालबाट त्यता जाने सामानको अवस्था के होलान् भन्ने प्रश्न उठ्नसक्छ ।
विज्ञहरूका अनुसार भने अमेरिकाको यो कर वृद्धिले नेपाललाई धेरै ठूलो नोक्सानी हुने अवस्था हँुदैन । बरु एउटा अवसर पनि हुन सक्छ । सवाल यो हो कि नेपालले यसलाई कसरी प्रयोग गर्ने ? वास्तवमा यसलाई अवसरमा बदल्न सकियो भने नेपाललाई पहिलेको भन्दा फाइदा नै हुन्छ । जे–जति मात्रामा कर बढ्नु भनेको सम्बन्धित वस्तु उपभोक्तासम्म पुग्दा त्यही मात्रामा मूल्य बढ्ने हुन्छ । उपभोक्ताको मनस्थितिले त्यही वस्तुलाई पहिलेको भन्दा मात्रा जे–जति होस् महँगो भयो भने सोही प्रकृतिका अरू वस्तुतर्फ ध्यान जान्छ नै । ध्यान गएका ठाउँमा योभन्दा झनै महँगो रहेछ भने फेरि फर्किएर आउने यतै हो । नेपालबाट अमेरिका गइरहेका वस्तुमा अमेरिकाले थप १० प्रतिशत भन्सार लगाएको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार नै तरंगित हुने आफ्ना देशमा आयात हुने वस्तुमा भन्सार महसुल बढाउँदा नेपाली वस्तुमा लागेको उक्त दर अन्यत्रभन्दा कम हो । जस्तो यही वस्तुमा छिमेकी देश भारतलगायत दक्षिण एसिया र अन्यत्रका मुलुकमा योभन्दा धेरै हुनेगरी कर लागेको छ । त्यस्तो बेला यदि नेपाली सामान पूर्ववत् ठाउँमा गइरहेको अवस्थामा यी अन्य देशमा भन्दा निकै सस्ता हुन्छन् । नेपालका लागि अवसर भनेको यही हो । आवश्यकता भनेको यसबाट अधिकाधिक फाइदा उठाउन सक्नु हो ।
निश्चय नै यसअघि नेपालले अमेरिका निर्यात गर्दा भन्सार महसुल शून्य थियो । नेपालले त्यता पठाउने भनेको ऊन वा उच्च गुणस्तरको जनावरको रौंबाट बनाएका कपडा र गलैंचा आदि हुन् । त्यस्तै, हिमाली प्रदेशका चिजहरू पनि नेपालबाट अधिक मात्रामा अमेरिका जाने वस्तुमा पर्छन् । पहिले शून्य प्रतिशतमा गइरहेका वस्तुमा जे–जति मात्रामा हुन् करलाग्दा सोअनुसार मूल्य प्रभावित हुने नै भए । यी वस्तुमा न्यूनतम १० प्रतिशत भन्सार लाग्ने हुन्छ । अहिले अमेरिका जाने वस्तुमा यस्तो कर चीन ३४ प्रतिशत, युरोपेली संघ २० प्रतिशत, जापान २४ प्रतिशत, भियतनाम ४६ प्रतिशत र भारत २६ प्रतिशत शुल्क थपिएको अवस्था छ । यसमा सबैभन्दा कम नै नेपाल रहेको छ । छिमेकी मुलुकले यी प्रकृतिका सामान पठाउँदा न्यूनतम २६ प्रतिशत शुल्क थपिएको अवस्थामा नेपाल १० प्रतिशतमा रहन पाएको छ । सोझो हिसाबले पनि त्यता निर्यात भएका सामानको कम्तीमा यस प्रकारको मूल्य अन्तर हुन आउँछ । यसबाट फाइदा भने लिन सक्नुपर्छ । त्यो अभ्यासमा लाग्न भने आवश्यक हुन्छ ।