काठमाडौं । भौतिक पूर्वाधार तथा पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मापदण्डविपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाइने बताएका छन् । सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलमा उनले गृह मन्त्रालयसँग समन्वय गरी नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधन सञ्चालनमा रोक लगाउने बताए ।
सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने उनको भनाइ थियो । यसैगरी उनले निर्माणस्थलहरूमा सवारीसाधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाइभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिइने बताए । काठमाडौं र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तिव्रता दिइएको भन्दै उनले वैकल्पिक सडकको रूपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए ।
यस्तै, मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालनलाई व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरीलगायतका निकाय तथा संघीय सरकारहरूसँग थप समन्वय गरिने बताए । दाउन्ने सडक खण्डमा भइरहेको निर्माण कार्यका कारण सवारीसाधन तथा यात्रुहरूलाई परेको समस्याप्रति मन्त्रालय गम्भीर रहेको भन्दै उनले मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाइएको बताए । सोखण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने उनले प्रतिबद्धता जनाए ।
छलफलमा यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर संगठनका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । यस्तै, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशकलगायतको उपस्थिति थियो ।