गोरखा । उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँ विद्युत् मर्मत भएपछि पुनः झलमल्ल बनेको छ । गाउँको लघु जलविद्युत् आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका–६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यु, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब दुई सय पाँच घरधुरीका बासिन्दा गत भदौदेखि दाउराको उज्यालोका भरमा जीवन गुजार्न बाध्य थिए ।
गाउँमा बिजुली नहुँदा गाउँले अन्धकारमा बस्न बाध्य भएको स्थानीय लोप्साङ धार्के लामाले बताए । ‘गत साउन १२ गतेको पहिरोले चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजना बगायो । त्यतिबेला गाउँले मिलेर जलविद्युत् मर्मत गरी अस्थायीरूपमा बिजुली बालेका थियौँ । पछि फेरि भदौमा आएको पहिरोले जलविद्युत् बगायो’, उनले भने, ‘भदौयता बीचबीचमा अस्थायीरूपमा बिजुली आए पनि नियमित थिएन । हाल मर्मत सम्पन्न भई नियमितरूपमा बिजुली बलेको एक हप्ता भयो ।’
विद्युत् नहुँदा बत्ती मात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानीपिसानी समेत गर्न नपाइएको चुमनुब्री–६ चुम्चेतका वडाअध्यक्ष सरोज लामाको भनाइ छ । अहिले बिजुली बलेपछि गाउँलेलाई तोरी, मकै, गहुँलगायत खाद्यान्न कुटानीपिसानी गर्न सहज भएको छ । ‘यता खासै रुख पाइँदैनन् । गाउँमा बिजुली नहुँदा दाउरा बालेर बस्नुपर्ने बाध्यता थियो । अलिअलि भएका रुख पनि फँडानी गरिएको थियो’, उनले भने । सो गाउँमा केन्द्रीय प्रसारणको बिजुलीबत्तीको पहुँच पुगेको छैन । गाउँलेले विसं २०७९ जेठ १५ गते निर्माण सम्पन्न भएको ७५ किलोवाटको चुम्चेत, चुम्लिङ जलविद्युत् आयोजनाको बत्ती बाल्ने गरेका थिए । गत भदौमा चुम्चेत खोला (ताम्जाखोला)मा उत्पादित सो लघु जलविद्युत् आयोजनाको मुहान, कुलो र ट्याङ्की सबै बगाएको सो आयोजनाका अध्यक्ष गोपाल लामाले बताए ।
कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाले निर्माण सम्पन्न गरेको सो आयोजना भत्किएपछि चुमनुब्री–६अन्तर्गतका गाउँ अन्धकार बनेका थिए । पहिरोले झन्डै एक करोड रुपैयाँको क्षति पुर्याएको लामाको भनाइ छ । ‘साउनको पहिरोले खासै क्षति पुर्याएको थिएन, त्यतिबेला सामान्य मर्मत गरेर बिजुली बालेका थियौँ’, उनले भने, ‘भदौको पहिरोले आयोजना जगैदेखि बगाएर लग्यो । त्यसपछि पूर्णरूपमा मर्मत सम्पन्न गरेर बिजुली वितरण गरेको झन्डै एक हप्ता भयो ।’ लामाका अनुसार आयोजनाले भदौयता बीचबीचमा अस्थायीरूपमा बिजुली बालेको थियो । कादुरी संस्था आफैंले मर्मत गरेर गाउँलाई पुनः झिलिमिली बनाएको अध्यक्ष लामाको भनाइ छ ।