काठमाडौं । अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् । अमेरिकाको न्युयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउन्डेसनले गरेको कार्यक्रममा सहभागीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अघि बढाएको सुधार कार्य सकारात्मक रहेकाले यसबाट आफूहरू आशावादी रहेको बताए । दुवै कार्यक्रममा बोल्ने वक्ताहरूले नागरिकमा प्रत्यक्ष देखिने र महसुस गरिने गरी मन्त्री पौडेलले काम गरिरहेको भन्दै डायस्पोराको तर्फबाट ऐक्यबद्धता समेत जनाएका थिए । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले विपन्न नागरिक लक्षित थप सुधार कार्यक्रम आउने अपेक्षा गरिएको बताए ।
वरिष्ठ चिकित्सक तथा गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेलले असल उद्देश्य राखेर मन्त्री पौडेलको नेतृत्वमा सुधार अघि बढिरहेको भन्दै कार्यान्वयन प्रभावकारी बनाउन सकिएस्वास्थ्य बीमा सुधार, अस्पताल सुधार आदि प्रभावकारी हुने बताए । मन्त्री प्रदीप पौडेलले अमेरिकामा रहेका नेपालीहरू समाजका लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिए । उनले नेपालको स्वास्थ्य सुधारमा डायस्पोरा र खासगरी अमेरिकी नेपाली समुदायबाट विशेष साथको अपेक्षा गरेको बताए । संयुक्त राष्ट्र संघको जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सहभागी हुन न्यूयोर्क पुगेका मन्त्री पौडेलले आसन्न बजेटका सन्दर्भमा सुझावका लागि नेपाली स्थायी नियोगले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाएका थिए ।