काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले ६८ हजारभन्दा बढी घरमा निःशुल्क खानेपानीका नयाँ मिटर जडान गरेको छ ।
मेलम्ची उप–आयोजना २ अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण गरिएका खानेपानी वितरण सञ्जाल (डीएमए) का नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये यही चैत १८ गतेसम्ममा ६८ हजार छ सय ८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्करूपमा जडान गरिएको पीआईडीले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई यसअघि हस्तान्तरण गरिएका १४ वटा खानेपानी वितरण सञ्जाल र हाल हस्तान्तरणको तयारीमा रहेका थप ११ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनमार्फत खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये ८५ प्रतिशतभन्दा बढी घरमा मिटर जडान गरिसकिएको जनाइएको छ ।