काठमाडौं । नेपाली सेनाले तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रा सुरु गरेको हो । पश्चिम पृतनापति उपरथी मधुकर सिंह कार्की र गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले बिहीबार टर्च तथा झण्डा हस्तान्तरण गरी पदयात्रा शुभारम्भ गरेका थिए । पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ श्रीरिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी छन् ।
करिब दुई सय सात किमि दूरीमा सञ्चालन हुने पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर सो पदयात्रा आगामी वैशाख ७ गते विजय उत्सव समारोहका साथ समापन हुनेछ । ऐतिहासिक महत्व बोकेका कोट, गढी, किल्लाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै इतिहासलाई जोगाउने पदयात्राको उद्देश्य रहेको छ । गोरखा दरबारस्थित हनुमान भञ्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झन्डा, टर्च लाइट र पाँचवटै गणको झन्डा बोकेर सेनाको टोली पदयात्रामा निस्किएको हो । टोलीले पालुङटारस्थित सतिघाटमा पुगेर तनहुँलाई र तनहुँले पाल्पास्थित सेनाको टोलीलाई झन्डा हस्तान्तरण गर्नेछ । त्यसैगरी पाल्पाले रुपन्देही र रुपन्देहीको सेनाको टोली जितगढी पुगेर कार्यक्रम समापन हुने जनाइएको छ ।
तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको लडाइँमा विजयप्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजयोत्सवका रूपमा मनाउने गरिँदै आएको छ । पदयात्राले एकीकरण पदमार्गको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । पदयात्रा शुभारम्भ कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका उपप्रमुख, श्री नं. ३ बाहिनीका बाहिनीपति, प्रमुख जिल्ला अधिकारी, इतिहासविद्, जनप्रतिनिधि, नेपाली सेनाका अधिकृत, जिल्लास्थित सुरक्षा निकाय एवं सरकारी कार्यालयका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।