काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र सँगसँगै रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्र अहिले देशको आर्थिक विकास र समृद्धिका लागि साथसाथै अघि बढेको बताए । सरकारले निजी क्षेत्रका सुझावलाई गम्भीरतापूर्वक लिएर नीतिगत सुधार गर्दै देशमा लगानी मैत्री वातावरण सिर्जना गरिररहेको उनको भनाइ छ । ‘सरकारले निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न पूर्ण प्रतिबद्ध छ । निजी क्षेत्रकै सुझावका आधारमा पछिल्ला नीतिगत सुधारहरू गरेका छौँ । देश विकास सबै मिलेर गर्ने हो । हामी सहकार्यको त्यो नमुनामा काम गरिहेका छौँ’, उनले भने । वर्तमान सरकारले नीतिगत स्थिरता र स्थायित्वका लागि काम गरेको उनले दाबी गरे । लगानीको वातावरण सुधार गर्न विभिन्न कानुनहरूमा महत्वपूर्ण परिवर्तनहरू गरेको र यी कानुनी सुधारको उद्देश्य पारदर्शिता बढाउने, प्रक्रियागत झन्झटहरू कम गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको विश्वास बढाएको उनको भनाइ थियो ।
यसैगरी प्रधानन्त्री ओलीले देश विकासका लागि सरकारको एकल प्रयास मात्र पर्याप्त नहुने बताए । देशमा पूर्वाधार विकास तथा ठूला परियोजनाका लागि स्रोतको प्रबन्ध गर्न महासंघको पहलमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपीएल) कम्पनी स्थापना हुन सह्रानीय भएको उल्लेख गरे । यस्ता प्रयासले अर्थतन्त्रलाई आत्मनिर्भरता, निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन र राष्ट्रिय स्वाभिमान निर्माण गर्ने उनको भनाइ छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको बताइन् । नेपालले तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नुपर्नेमा उनले जोड दिइन् । यसका लागि सरकार र निजी क्षेत्र मिलेर देशभित्र भएका स्रोत साधनको अधिकतम प्रयोग गरी विकासको गति तीव्र बनाउनुपर्ने उनको भनाइ थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष अञ्जन क्षेष्ठले सरकारले निजी क्षेत्रलाई साक्षीका रूपमा मात्र नभई सहयात्रीको रूपमा हेनुपर्नेमा जोड दिए । आर्थिक समृद्धिका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य भएको बताउँदै उनले सरकारले गरेका नीतिगत सुधार सकारात्मक भए पनि कार्यान्वयनमा हुने ढिलासुस्तीले विश्वासमा संकट आउने गरेको उल्लेख गरे ।