काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपाल–चीन रात्रिकालिन उडान सुरु गरेको छ । एयरलाइन्सले बिहीबारदेखि काठमाडौं–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गरेको हो ।
कम्पनीका अनुसार काठमाडौं–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै, दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौँ ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुनेछ । ‘अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छ भने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुनेछ । साथै, सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चाइना साउदर्नले उक्त अवधिमा उल्लेखनीयरूपमा सिट संख्या बढाउने योजना समेत बनाएको छ । काठमाडौं–ग्वाङ्झाउतर्फ करिब ४५ हजार सिट र ग्वाङ्झाउ–काठमाडौं ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइने छन् । कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौं–ग्वाङ्झाउमा १६ दशमलव पाँच प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वाङ्झाउ–काठमाडौंमा १३ हजार अर्थात् ३९ दशमलव नौले बढी हो । उडान र सिट सङ्ख्यामा भएको वृद्धिले चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पुर्याउने एयरलाइन्सको अपेक्षा छ ।