नेपाल धर्मनिरपेक्ष राष्ट्र भए पनि यहाँको कुल जनसंख्यामध्ये ८१ प्रतिशत हिन्दु बसोबास गर्छन् । त्यसैले नेपाल हिन्दु बहुलता भएको देश हो । यहाँ धेरै नै मन्दिरहरूको निर्माण परापूर्वकालदेखि नै भएको हो । प्राचीन मन्दिरहरूमा चाँगुनारायण, पशुपतिनाथ, पाटनको कृष्ण मन्दिर, स्वयम्भूनाथ, पाथीभरा, भद्रकाली, मुक्तिनाथ, मनकामना, दक्षिणकाली, संकट, महांकालका साथै जानकी मन्दिरलगायत देशका अन्य भागमा धेरै नै मन्दिरहरू छन् ।
मन्दिरै मन्दिर भएको देशमा धेरै मानिसहरूमा धर्मप्रति आस्था र विश्वास कायमै छ । विशेष दिनमा मन्दिरहरूमा धेरै भिड हुने गर्छ । यति हुँदाहुँदै पनि नेपालका धेरैजसो मन्दिरहरूमा आर्थिक बेथिति, पारदर्शिताको अभाव र अव्यवस्थित व्यवस्थापन तथा मन्दिरको आसपास धेरै नै फोहर देख्न सकिन्छ ।
धेरै लाइन बस्नुपर्ने मन्दिरमा पनि अव्यवस्थितताका साथै निकै नै फोहरको ढिस्को देख्न सकिन्छ । जहाँतहाँ छाडिएका फूल प्रसादहरूले मन्दिर नै नदेखिने गरी ढाकिएको देखिन्छ । अझ भनौं बलि दिने मन्दिरमा त झन् अति नै दुर्गन्धित हुनुका साथै जहाँतहाँ रगतको फोहरले हामी २१औँ शताब्दीका मानिस पनि ढुंगेयुगको जस्तो लाग्छ ।
फोहर र अव्यवस्थित त छँदैछ, यसमा अझ पारदर्शिताको अभावको साथै समाजका मानिसको संलग्नता तथा स्थानीय निकायको मौनताले मन्दिर मात्र नभई जात्राजस्तो भएको छ । सम्भ्रान्त मन्दिरमा जाँदा शान्त, सुन्दर, रमाइलो, फूलैफूल, सरसफाइ, खानेपानी तथा उचित शौचालयको व्यवस्था हुनुका साथै भगवानको मुहार पनि स्पष्टरूपमा दर्शन गर्न पाए पो मन आनन्दित हुन्थ्यो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटकलाई भित्र्याउन सकिन्थ्यो र दान–दक्षिणाले अझ आर्थिक प्रगति गरी मन्दिर परिसरका साथै स्थानीय विकास पनि मन्दिरकै आम्दानीबाट गर्न सकिन्थ्यो । तर खोइ नेपाल कहाँ गइरहेको छ थाहा छैन । कसले गर्ने हो यो सबै काम थाहा छैन । व्यवस्थापन समिति, स्थानीय प्रशासन, गुठी संस्थान वा सरकार, कसले चासो लिने हो यस्तो कुरा थाहा छैन ।
न मन्दिरमा राम्रो भजनबाजी हुन्छ, न शान्त वातावरण हुन्छ, न आउने–जानेको लाइन राम्रो हुन्छ, न फूल प्रसाद कसरी चढाउने भन्ने नियम नै छ । यो कस्तो बेथिति हो ? सक्नेले लाइन मिचेका छन्, नसक्ने हेरेकोहेर्यै छन् । चढाएको पैसा पनि उचित व्यवस्थापन भएको हो कि वा निश्चित मान्छेकहाँ जान्छ कि यो कस्तो नियम हो कसैलाई थाहा छैन ।
जहाँतहाँ बलेका बत्ती, वरिपरि फैलिएका प्लास्टिक र बोतल, हुलमुलले गर्दा मन्दिर मन्दिरजस्तो भएको छैन । हो, मानिसले पण्डितमा आस्था र भक्तिभाव बोकी आउँछन्, पूजा गर्छन् र पैसा चढाउँछन् । तर यस्ता धार्मिक स्थलहरूमा करोडौंको चढावा र आम्दानी हुँदा पनि सम्पत्ति दुरुपयोग, अनियमित खर्च र दैनिक कार्य प्रणालीमा लापरबाही देखिन्छ ।
नेपालका मन्दिरहरूमा आर्थिक व्यवस्थापन किन कमजोर छन् र यो कमजोरीलाई कसले हेर्ने हो ? यसको उचित व्यवस्थापन भएको भए हाम्रा मन्दिर धनी हुनुको साथै अलिक व्यवस्थित पनि हुन्थे कि ! तर लेखा प्रणालीको अभाव प्रायः मन्दिरहरूमा छ जस्तो लाग्छ । यस्तो लाग्छ कि अधिकांश मन्दिरहरूमा दैनिक हिसाब–किताब र पारदर्शी लेखा प्रणाली नै छैन । साथै, कति भेटी दर्शनार्थीबाट चढाइयो, कहाँ खर्च भयो भन्ने सार्वजनिक रिपोर्ट पनि हुन्छ वा हुँदैन भन्ने जानकारी सार्वजनिकरूपमा छैन ।
साथै, ठूला मन्दिरमा गुनासो सुन्ने अधिकारी हुनुपर्छ । मन्दिरमा ध्यान केन्द्रको साथै आध्यात्मिक ज्ञान दिने व्यक्ति पनि हुनुपर्छ । यसका साथै जहाँ पदाधिकारीहरू छन्, त्यहाँ पनि पदाधिकारीहरूको मनपरी पो छ कि ? यसबारे सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । पुजारी, गुठी पदाधिकारी र अन्य व्यक्तिहरू मिलेर मनपरी तरिकाले खर्च गर्ने प्रचलन पो छ कि ? यसको पनि निगरानी सम्बन्धित निकायले गर्नुपर्ने देखिन्छ ।
पशुपतिनाथलगायत कतिपय मन्दिरमा नातावाद र परिवारवाद हाबी हुन्छजस्तो लाग्छ । यो पशुपति क्षेत्र विकास कोष तथा सरकारी निकायको कमजोर कार्यसम्पादन पो हो कि ? यसमा निगरानी गर्नुपर्छ । कति ठूला मन्दिरहरूमा पनि राजनीतिक हस्तक्षेप हुनुको साथै पुरानो कार्यशैलीका कारण पनि सुधार हुन सकेको छैन । कतिपय मन्दिर जीर्ण त छन् नै कति बन्दै छन् । तर सफा हुनुपर्ने त्यो कतै देखिँदैन ।
पशुपतिनाथ, दक्षिणकाली, मुक्तिनाथ, बौद्धनाथ, मनकामना, जानकी मन्दिर, पाथीभरा मन्दिरजस्ता मन्दिरहरूमा पर्यटक चाप धेरै छ । तर त्योबाट आएको आम्दानीले मन्दिर तथा स्थानीय विकास, स्वास्थ्य, सरसफाइ तथा स्वच्छ पिउने पानी तथा सार्वजनिक शौचालयमा प्रयोग भएको देखिँदैन ।
जताततै भद्रगोल तथा अस्तव्यस्तता मात्र देखिन्छ । बागमतीलगायत अन्य नदीहरू फोहर छन्, खोलानाला सबै गन्हाउँछन्, यसको कसैले दीर्घकालीन सोच बनाएको देखिँदैन । बेला–बेला गरिएकोजस्तो भए पनि आजको दिनसम्म पनि फोहोर नै छ । यति राम्रो हाम्रो सम्पदा धुलोमैदानजस्तो छ । न उचित पार्किङ, न माग्नेको उचित व्यवस्था, न नदी–नाला सफाइ, न मन्दिर परिसरमा दर्शन गर्ने माहोल ।
यसले आउने पुस्तालाई हामी के सिकाउँदैछौँ ? उचित संरचना नहुँदा मन्दिरहरूको हालत बिग्रिँदो छ, सम्पदा जीर्ण अवस्थामा छन् । समस्याको निराकरण गरी अगाडि बढ्नु, हाम्रा सम्पदालाई जोगाउनु हाम्रो कर्तव्य हो । मन्दिर परिसरमा फूल, बिरुवा हुनुपर्छ, रमाइलो वातावरण हुनुपर्छ, भक्तिभाव जगाउने खालको हुनुपर्छ, कीर्तन र प्रवचनको गुन्जन हुनुपर्छ । मन्दिरमा सस्तोमा प्रसादको व्यवस्था पनि हुनुपर्छ ।
पहिला आर्थिक संकलन गरी त्यसबाट आएको पैसालाई कडाइका साथ स्थानीयस्तरको सहभागितामा उचित लेखा प्रणाली गरी मन्दिरको हालत बिग्रिन नदिने, समय–समयमा मर्मत गर्ने, सम्पत्तिको दुरुपयोग हुन नदिने, साथै यो भेटीबाट आएको सबै आम्दानीलाई खर्च गरेर बचत भएमा सामाजिक कार्यमा लगाउन सकिन्छ र अन्तर्राष्ट्रिय धार्मिक पर्यटकको पनि वृद्धि गराउन सकिन्छ ।
भक्तजनहरूलाई दान दिन प्रोत्साहन गर्नुपर्छ । त्यसको लागि स्वच्छ, सफा वातावरण बनाई सुविधा प्रदान गराउन सक्नुपर्छ । जहाँतहाँ बलेका बत्तीले शोभा दिँदैन, जहाँतहाँ चढाइएको प्रसादले शोभा दिँदैन, गन्हाउने शौचालय हामीलाई चाहिँदैन । यही कुरा हाम्रो छिमेकी देशमा हेर्ने हो भने यसको उचित संरक्षण भएको पाइन्छ । साथै, उक्त देशहरूले धार्मिक पर्यटकबाट राम्रो आम्दानी गरी राज्यलाई कर तिर्नुको साथै धेरैलाई रोजगारी दिएर निःशुल्क खानपानको व्यवस्था गरी धर्मशालाको पनि उचित व्यवस्थापन गरेका छन् । दानको पैसाबाटै स्थानीय तहको विकास र समग्र देशको अर्थतन्त्रमै सकारात्मक असर परेको देखिन्छ । जसले गर्दा प्रत्यक्ष अथवा अप्रत्यक्ष लाभ अति धेरै मात्रामा भएको देखिन्छ । यी यावत कुरा हामीले सोची, राम्रो कुरालाई पछ्याउनुपर्ने देखिन्छ ।
हामी जाग्ने बेला आएको छ । मन्दिर संरक्षण तथा सम्बद्र्धन गर्ने बेला आएको छ । मन्दिर आस्थाको केन्द्र हो, यसलाई आस्थाको केन्द्र नै बनाऔँ । नेपालका मन्दिरहरूमा शुद्ध आस्था छ तर सही व्यवस्थापनको अभाव देखिन्छ । यदि सही ढंगले व्यवस्थापन गरियो भने यी मन्दिरहरू धार्मिक केन्द्रको साथै आर्थिक र सामाजिक विकासको कडी बन्न सक्छन् ।
मन्दिरमा योग्य पुजारी हुनुपर्छ, पुजारीको तलब र भत्ता हुनुपर्छ । मन्दिरमा सरसफाइ कर्मचारीको साथै सुरक्षा व्यवस्था कडाइ हुनुपर्छ । मन्दिरमा होहल्ला होइन, भजन बज्नुपर्छ । मन्दिरमा नाली होइन, बगैँचा हुनुपर्छ । मन्दिरमा चोर र फटाहा होइन, साधु र सन्त हुनुपर्छ । मन्दिरमा धुवाँ होइन, फूलको सुगन्ध आउनुपर्छ । मन्दिरमा भाषण होइन, यहाँ कीर्तन हुनुपर्छ । मन्दिरको आस्था झल्काउने कार्यक्रम हुनुपर्छ ।
प्रवेशद्वारदेखि नै हरियाली हुनुपर्छ । डिजिटल बोर्ड राखी बाहिरबाटै भक्तजनहरूलाई ‘दान दिऊँ, दिऊँ’ लाग्ने आवश्यक गराउनुपर्छ र दान लिन डिजिटल माध्यम पनि बनाउनुपर्छ । धार्मिक कार्यक्रम गर्दा कडाइका साथ निगरानी गर्नुपर्छ । जहाँतहाँ धुपबत्ती बाल्नु बन्द गर्नुपर्छ । मन्दिरमा अपाङ्गहरूलाई विशेष व्यवस्था गरिनुपर्छ । विभिन्न ठाउँमा गुरुकुलजस्तो शिक्षा दिने केन्द्रको विकास गर्नुपर्छ ।
लथालिङ्ग मन्दिरको साथै दर्शनार्थीहरू पनि उत्तिकै संयम देखिँदैनन । मिचाहा प्रवृत्ति, आफू मात्र दर्शन गरौँ भन्ने भावनाको साथै फोहोर गर्ने जिम्मेवार पनि दर्शनार्थी नै हुन् ।
हामीले आफैँ सचेत नागरिक भइकन सभ्य भएर आफ्नै पालोमा दर्शन गर्ने व्यवस्था तथा जहाँ भएको फोहर गरेमा कडा कारबाहीको व्यवस्था भएमा मन्दिर सबैको आस्थाको केन्द्र हुन सक्थ्यो । आजको युग प्रविधिको युग हो, यसको सदुपयोग गरी विभिन्न ठाउँमा सीसीटीभी राखी अन्य गतिविधिको निगरानी गर्नुपर्छ ।
त्यसको साथै मन्दिरहरूमा जुत्ता निषेध हुनुपर्छ । मन्दिर नजिकै मदिरा तथा माछा–मासुको बिक्रीवितरण पूर्णरूपमा निषेध गरिनुपर्छ । हुन त कति मन्दिरहरूमा आफ्नै चलनअनुसार रक्सी र मासु पनि चढाउने चलन छ, यद्यपि त्यहाँ नजिक रक्सी खाने ठाउँ र मासु बेच्ने ठाउँ राख्नुहुँदैन । मन्दिरमा शान्तमय वातावरण हुनु जरुरी छ । सिठी फुक्ने, होहल्ला गर्ने तथा गैरकानुनी कार्य मन्दिर नजिक हुनुहुँदैन । मन्दिरको द्वार, मन्दिरका भित्ताहरू, मन्दिरको फ्लोरदेखि मूर्ति अत्यन्तै सुन्दर र सफा हुनुपर्छ ।
हामी भगवानको सन्तति हौँ । भगवानले हामीलाई सबै चीज प्रदान गर्नुभएको छ । हो, मन्दिर मानिसले बनाएका हुन्, हाम्रा पुर्खाले बनाएका हुन् । यसको संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो जिम्मेवारी हो । आजैदेखि जागौँ । मन्दिरलाई हाम्रो आस्था र विश्वासको केन्द्र बनाऔँ । यसलाई बचाऔँ । यसको संरक्षण र सम्बद्र्धन गरौँ । प्लास्टिक निषेध गरौँ । धुवाँरहित बनाऔँ, फोहोररहित बनाऔँ । शान्त, सुन्दर र ऊर्जावान बनाऔँ । आजै जागौँ । मन्दिरदेखि सुरु गरी राष्ट्र बनाऔँ । यो हामी सबैको कर्तव्य हो । आशा छ, हाम्रा मन्दिरहरू आउने दिनमा राम्रा हुनेछन्, सबै कुराको व्यवस्थापन उचित हुनेछन् ।