रौतहट । ट्याक्टरको ठक्करबाट रौतहटको मौलापुर नगरपालिका वडा नं. ३ गम्हरियामा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मौलापुरका अनुसार मौलापुर नगरपालिका वडा नं. ३ गम्हरिया को ४५ वर्षीया सीतादेवी साह कानुको मृत्यु भएको हो ।
मौलापुरबाट गम्हरियातर्फ आइरहेको प्रदेश २ –०३– ००१ त ३५२४ नं. को ट्याक्टरले बिहीबार विपरीत दिशाबाट आइरहेको ना ६० प ३४३८ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार साहको घटनास्थलमा मृत्यु भएको मौलापुर नगरापालिका वडा नं. ३ का वडा अध्यक्ष महेश महतो कोइरिले बताए ।
ट्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय मौलापुरको नियन्त्रणमा छ । सामान्य स्वास्थ्य उपचारपछि मोटरसाइकल चालक मृतक साहका श्रीमान् लखिन्द्र साह कानु घर फर्केको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको तथा ट्याक्टर चालक सन्देश साह फरार रहेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक प्रवेश कार्कीले जानकारी दिए ।