काठमाडौं।नेपालको परिचय कृषिप्रधान देश हो । तर यस्तो परिचय वा विशेषता बोकेको मुलुकमा स्वयं कृषिका लागि चाहिने आधारभूत वस्तुमा भने सधैँ अन्यत्रको भर पर्नुपर्ने अवस्था छ । यस्ता धेरै सामग्रीहरू बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । मल बीउविजनलगायतका वस्तुमा परनिर्भरता कायम हुँदा कतिपय अवस्थामा त किसानले पनि ठूलो नोक्सानी व्यहोर्नुपरिरहेको देखिन्छ । जुनबेला जुन बाली लाग्नुपर्ने हो त्यही बेला त्यो बालीका लागि चाहिने मल आउँदैन । सोचाइको कुरा त अलग्गै भयो । कतिपय अवस्थामा आयातित बीउ नक्कली परेर बालीका बोट ठूलाठूला हुने तर दाना नलाग्ने रोग प्रत्येक वर्ष दोहोरिरहेको पाइन्छ । यस्ता वस्तुमा राष्ट्रले समुचित ध्यान नदिँदा र परनिर्भरता बढ्दाका परिणामहरू हुन् ।
यी परिदृश्यमा नै अब भन्नुपरेको छ, कृषिप्रधान देशको सरकार आफ्ना नागरिकलाई कम्तीमा बीउ त देऊ । निश्चय नै सरकारले बीउ समेत उमारेर दिन सकेको छैन । त्यसको उदाहरण हो, अत्यधिक मात्रामा बीउ आयात भइरहेको अवस्था । चालु आर्थिक वर्षको बितेको आठ महिनालाई मात्रै हेरियो भने बीउका लागि बाहिर गएको रकमको अंक दुई अर्ब रुपैयाँभन्दा बढी देखिन्छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार चालु वर्षमा मात्र होइन, अघिल्लो वर्षमा पनि यस्तै हुने गरेको थियो । मुलुकलाई कम्तीमा यस्ता वस्तुमा आत्मनिर्भर बनाउने भन्दै प्रस्ताव हुने गरेको कार्यकम्र र त्यसका लागि भइरहेको खर्चमा समेत प्रश्न उठ्ने गरेको अवस्था देखिन्छ । केन्द्रमा रहेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको आठ महिनामा मात्रै दुई अर्ब १३ करोड रुपैयाँको चार हजार पाँच सय ८३ टन बीउ आयात भएको छ । देशभरी नै सबैभन्दा बढी बाली लाग्ने भनेको मकै हो ।
तर यता बीउ भने मकैको नै सबैभन्दा बढी आयात भएको पाइयो । यी आठ महिनामा मकैको बीउ मात्रै एक अर्ब ३० करोड ४२ लाख रुपैयाँको तीन हजार चार सय ८८ टन आयात भएको छ । अर्को सबैतिर लाग्नेबाली धान हो । धानको बीउको आयात पनि उस्तै छ । यी आठ महिनामा धानको बीउ १६ करोड ५८ लाख रुपैयाँको चार सय १० टन आयात भएको पाइएको छ । हरेक नागरिकको करेसाबारीमा लाग्ने हरियो तरकारीको बीउ ६० करोड सात लाख रुपैयाँको तीन सय १८ टन आयात भएको केन्द्रको रेकर्डमा छ ।
उल्लेखित विवरण चालु वर्षको आठ महिनाको हो । गएको आर्थिक वर्ष २०८०/८१ मा बीउविजनका नाममा तीन अर्ब २० करोड ५१ लाख रुपैयाँ बाहिरिएको थियो । त्यो छ हजार सात सय ४० टन बीउ आयात भएको देखिन्छ । यसमध्ये पाँच हजार नौ सय ८८ टन खाद्यान्न र पाँच सय ६९ टन तरकारीको बीउ पर्छन् । आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ६३ करोड ४७ लाख मूल्यको पाँच हजार सात सय ७२ टन बीउ आयात भयो । यसअघिको आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ६३ करोड ४७ लाख, २०७७/७८ मा दुई अर्ब ६७ करोड ३१ लाख २०७६/७७ मा एक अर्ब ६४ करोड ७२ लाख रुपैयाँको बीउ आयात भएको थियो । अध्ययनका लागि यी पाँच वर्षमा आयात भएको यस्तो चित्रले कृषिप्रधान देशले आफूलाई चाहिने मात्रामा बीउविजनको उत्पादन समेत गर्न नसकेको देखाउँछ । त्यसैले सरकार कृषिप्रधान देशमा बीउ त उमार भन्नु परेको हुनुपर्छ ।