स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय साहारा बाख्रापालन स्वाबलम्वी महिला कृषक समूहका सदस्यहरूलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमअन्तर्गत ‘भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔँ’ भन्ने मूलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो । वडा नं १ का वडाध्यक्ष तथा नगर प्रवक्ता पदमराज गुरुङले महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताए । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरू आर्थिकरूपमा सवल हुने उनको भनाइ छ । ग्रामीण क्षेत्रको विकासका लागि महिलाहरू उत्पादनमा जोडिन जरुरी रहेको वडाध्यक्ष गुरुङले बताए ।
बाख्राको नश्ल सुधार गरी आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाको पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताए । नश्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भइरहेको उनको भनाइ छ । कार्यक्रमअन्तर्गत साहारा बाख्रापालन स्वाबलम्वी महिला कृषक समूहका २१ जना सदस्यलाई पाठापाठी वितरण गरिएको परियोजनाले जनाएको छ । समूहका अधिकांश सदस्यहरू दलित महिला रहेका छन् ।