दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाले आफ्नो सीमा क्षेत्रमा सीसीक्यामेरा जडान गरी निगरानीमा राख्न थालेको छ । गाउँपालिकाको सीमा क्षेत्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गरेर सीसीक्यामेरा जडान कार्य सुरु गरिएको गाउँपालिकाका सूचना अधिकारी एवं कम्प्युटर इन्जिनियर रोशन कुमार गिरीले जानकारी दिए ।
गाउँपालिकाले आफ्नो सीमा जोडिएको जिरी र वैतेश्वरको खावामा अत्याधुनिक प्रविधिको पिटीजेट सीसीक्यामेरा राखेको छ । त्यसैगरी अत्याधिक सवारी र मानिस ओहोरदोहोर हुने तामाकोशी बजारको वैतेश्वर क्षेत्रमा क्यामेरा जोडिएको छ । तामाकोशी बजार जिल्लाको भीमेश्वर नगरपालिका, तामाकोशी, मेलुङ र वैतेश्वर गाउँपालिकाको संगम स्थल हो । गाउँपालिकाले यहाँ पनि सीसीक्यामेरामार्फत निगरानी गर्ने भएको हो । त्यसैगरी वैतेश्वर र तामाकोशी गाउँपालिकाको सीमा नाका गोपीखोलामा सीसीक्यामेराको निगरानी राखिएको छ । बजार तथा सीमा क्षेत्रमा हुने चोरी, डकैती तथा अन्य आपराधिक घटना रोकथाम तथा अनुसन्धान सहज बनाउन सीसीक्यामेराबाट निगरानी बढाइएको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए ।
गाउँपालिका प्रशासन तथा स्थानीय सुरक्षा निकाय, इलाका प्रहरी कार्यालय मैनापोखरी, अस्थायी प्रहरी चौकी पुतलीकाठअन्तर्गत निगरानी हुनेगरी सिमाना क्षेत्रमा सीसीक्यामेरा जडान गरिएको अध्यक्ष लामाले जानकारी दिए । वैतेश्वरले यसअघि पनि पालिकाभित्रका मुख्य बजार क्षेत्रमा सीसीटीभीमार्फत बजारको निगरानी गर्दै आएको छ ।
गत वर्ष मुख्यबजार मैनापोखरी, नाम्दु, पुतलीकाठ, मिर्गे लहरेमाने, वडा नम्बर–१ को बुद्धचोकलगायतका स्थान तथा सम्पूर्ण वडा कार्यालयमा सीसीक्यामेरा राखिसकेको छ । बजार तथा सिमानामा हुने गतिविधि अब वैतेश्वर गाउँपालिका आफ्नो कार्यालयबाटै हेर्नेछ । सिमाना राखिएको सीसीटीभीले पालिकाभित्र हुने आपराधिक गतिविधि तथा चोरीतस्करी नियन्त्रणमा सहज हुने पालिकाको अपेक्षा रहेकोे छ । साथै, पालिकाले सार्वजनिक स्थल तथा बजार क्षेत्रलाई रातमा पनि उज्यालो राख्न विभिन्न ठाउँमा सडक सोलार बत्तीको समेत व्यवस्थापन गरेको वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले जानकारी दिए ।