काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीबाट अवैध लागूऔषध गाँजा करिब आठ सय ४६ ग्राम, नगद ५२ हजार पाँच सय रूपैयाँ र मोबाइल दुई थानसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनकोशी गाउँपालिका–२ ओख्रेनी बस्ने १९ वर्षीय उमेश बुर्जा र २६ वर्षीय मोहनबहादुर बुर्जा रहेका छन् ।
झापाको गौरादह नगरपालिका–५ सृजना टोलबाट नियन्त्रित लागुऔषध ट्रामाडोल चार सय ७० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेटसहित कमल गाउँपालिका–७ बस्ने २८ वर्षीय विशाल लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले मे.११ प १५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–३ अरेलीघारीबाट अवैध लागुऔषध गाँजा करिब पाँच किलोग्रामसहित तनहुँ रिसिङ गाउँपालिका–२ काउँशिवपुर घर भई हाल चितवन भरतपुर महानगरपालिका–२० चनौली बस्ने ३४ वर्षीय विशाल थापामगर र १९ वर्षीय रिजन थापामगर पक्राउ परेका छन् ।