काठमाडौं । काठमाडौं महानगरपालिका वडा न २४ इन्द्रचोकमा रहेको यादवप्रसाद खकुरेलको घरको चोथो तल्लामा रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष खड्गबहादुर देवकोटालगायत सबै सदस्यहरू बचतकर्ताको १४ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर भागेका छन् । बचतकर्ता तीर्थराज खनाललगायत एक सय १९ जनाको जाहेरी निवेदन परेपछि प्रहरीले उनीहरूलाई खोज्दा नभेटिएपछि फरार सूचीमा राखेको छ भने अध्यक्ष देवकोटाकी श्रीमती समेत रहेकी उक्त सहकारीकी प्रबन्धक सविना वाग्लेचाहिँ सामाखुसीबाट पक्राउ परेकी छिन् ।
उनीहरू बचतकर्ताहरूको १४ करोड ४३ लाख नौ हजार आठ सय पाँच रुपैयाँ हिनामिना गरेर भागेका छन् । उक्त रकम हिनामिना गरेर भाग्ने व्यक्तिहरूमा सिन्धुली जिल्ला कमलामाई नपा घर भई हाल सामाखुसी बस्ने आधारभूत सहकारी संस्था लिमिटेडका अध्यक्ष खड्क बहादुर देवकोटा, तनहुँ जिल्ला आँबुखैरेनी १ घर भई हाल काठमाडौं बस्ने सहकारीका उपाध्यक्ष रामचन्द्र वाग्ले, सिन्धुली जिल्ला कमलामाई नपा घर भई हाल कामनपा २२ न्युरोड बस्ने सहकारीको सचिव विष्णु कुमार देवकोटा रामेछाप जिल्ला झावारबास ७ घर भई हाल कामनपा २१ बस्ने सहकारीको कोषाध्यक्ष लीलामाया कार्की, तनहुँ जिल्ला आँबुखैरेनी १ घर भई हाल काठमाडौं बस्ने सहकारीको लेखा समितिको संयोजक सुनिल वाग्ले, सिन्धुली जिल्ला सुनकोशी ७ घर भई हाल काठमाडौं बस्ने सहकारीकी सदस्य जुना रायमाझी, चितवन खैरहनी नपा ५ घर भई हाल कामनपा २२ न्युरोड बस्ने सहकारी सदस्य समीक्षा अधिकारी र चितवन जिल्ला भरतपुर मनपा १४ घर भई हाल कामनपा २२ न्युरोड बस्ने सहकारीकी सदस्य समीक्षा अधिकारी र चितवन जिल्ला भरतपुर मनपा १४ घर भई हाल कामनपा २२ न्युरोड बस्ने सहकारीकी सदस्य सुरक्षा पन्त रहेका छन् ।
उनीहरूले राजनीतिक आड र संरक्षणमा गरिब, निमुखा र सर्वसाधारण व्यक्तिलाई आकर्षक ब्याजको प्रलोभन देखाएर रकम बचत गर्न लगाएका थिए र संगठितरूपमा उनीहरूलाई ठगेर योजनाबद्धरूपमा एकाएक फरार भएका छन् । उनीहरूले आफ्नो दुःखको कमाइ ठगेर भागेको थाहा पाएपछि पीडित बचतकर्ताहरू कारबाहीका लागि हारगुहार माग्दै प्रहरीसमक्ष पुगेका छन् ।