काठमाडौं । नेपाल बहुसांस्कृतिक, बहुजातीय र बहुभाषिक देश हो । जसको सामाजिक तथा सांस्कृतिक जीवनमा चाडपर्वको विशेष महत्व रहेको छ । तीमध्ये नयाँ वर्ष अर्थात् वैशाख १ गते एक विशेष दिन हो । केवल एक पात्रोको पाना पल्टाउने क्षण मात्र होइन, आर्थिक, सामाजिक र सांस्कृतिकरूपले महत्वपूर्ण पर्व हो । यो अवसरले नेपालको आन्तरिक पर्यटन, बजार प्रणाली, रोजगारी र व्यवसायमा उल्लेखनीय प्रभाव पार्छ । जुन दिनबाट नयाँ विक्रम संवत्को आरम्भ हुन्छ । जसमा नयाँ वर्षको आगमनसँगै जनमानसमा नयाँ उमंग, उत्साह र अपेक्षाको सुरुवात हुन्छ । विशेषगरी आर्थिक दृष्टिकोणले हेर्दा, नयाँ वर्षले केही सकारात्मक संकेतहरू बोकेको हुन्छ । तसर्थ, नयाँ वर्ष मुलुकमा लोपोन्मुख सांस्कृतिक परम्परालाई जगेर्ना गर्ने अवसर पनि हो । यस दिन विशेष पूजाआजा, घर सफा गर्ने, नयाँ लुगा लगाउने, परिवार तथा इस्टमित्रसँग भेटघाट गर्नेजस्ता क्रियाकलाप गरिन्छन् । यसमा पनि विभिन्न समुदायले आ–आफ्नै तरिकाले यो दिनलाई मनाउँछन् । जसले गर्दा देशभित्रको सांस्कृतिक विविधतालाई उजागर गर्छ । जुन नयाँ वर्ष नेपालीहरूको जीवनशैली, परम्परा र आधुनिकताको संगम पनि हो । यसको सांस्कृतिक महत्वले नेपाली समाजलाई एकताबद्ध बनाउँछ भने आर्थिक प्रभावले देशको समग्र अर्थतन्त्रलाई चलायमान बनाउँछ । यो पर्व व्यापार, पर्यटन, रोजगारी र सामाजिक सद्भावको अवसर पनि हो । यसमा सही योजना, सहकार्य र सचेतनाका साथ नयाँ वर्षलाई राष्ट्रिय समृद्धिमा परिणत गर्न सकिन्छ । यसैले, नयाँ वर्षको स्वागत हर्षोल्लासका साथ मनाउने परम्परा पनि रहेको छ । तर संस्कृति र अर्थतन्त्रलाई सन्तुलनमा राख्न एक अर्काको सहयोग तथा प्रयास आवश्यक हुन्छ । यही आधारमा भन्ने नै हो भने मुलुकको नयाँ वर्षाले अर्थतन्त्रमा आशाको किरण देखाउन सक्छ भन्ने विभिन्न किसिमका विषयहरूमा पनि चर्चा गरिनेछ ।
पर्यटन क्षेत्रमा प्रभाव
राष्ट्रलाई सरसर्ती हेर्ने हो भने आन्तरिक पर्यटनको संख्यामा वृद्धि क्रमशः हुँदै गएको छ । यसैक्रममा नयाँ वर्षको बेला नेपालीहरू देशका विभिन्न भागहरूमा घुमफिर गर्न निस्कने चलन रहेको छ । यसमा पनि विशेषगरी पोखरा, चितवन, लुम्बिनी, धरान, इलाम, धनुषा तथा काठमाडौं उपत्यकामा पर्यटकको भिड लाग्छ । यस कारणले गर्दा होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रान्सपोर्ट सेवा, गाइड सेवाजस्ता सेवा उद्योगमा आर्थिक चहलपहल ल्याउँछ । त्यसरी नै पर्यटनसम्बन्धी व्यवसायको मुनाफालाई हेर्ने हो भने यस समयमा होटल तथा लज व्यवसाय नयाँ वर्षको समयमा कोठा आरक्षण दर अत्यधिक हुन्छ । जसले गर्दा होटल व्यवसायीहरूका लागि यो समय पिकसिजन पनि हो । त्यस्तैगरी यातायात व्यवसायका लागि पनि बस, ट्याक्सी, मिनी बस, फ्लाइट बुकिङ आदिबाट आम्दानी बढ्छ । त्यसरी नै स्थानीयस्तरमा उत्पादन भएका हस्तकलाको बिक्री यसै समयमा हुन्छ । जसमा भन्ने नै हो भने पर्यटकले खरिद गर्ने सामग्रीमा हस्तकला, लोककलासँग सम्बन्धित उत्पादनहरू समावेश हुन्छन् ।
खुद्रा बजार तथा उपभोग प्रवृत्तिको प्रभाव
नयाँ वर्षलाई स्वागत गर्न नेपालीहरूले नयाँ लुगा, मोबाइल, गहना, भाँडाकुँडा, सजावट सामग्री किन्न थाल्छन् । यसले खुद्रा बजारमा उच्च माग सिर्जना हुन्छ । जसमा यसै समयमा नयाँ वस्त्र, इलेक्ट्रोनिक सामानहरू, उपहारको व्यापार बढ्न जान्छ । यसमा पनि सपिङ मल र डिपार्टमेन्ट स्टोरहरूमा नयाँ वर्षको सेल अफर, डिस्काउन्ट स्किमहरू हुन्छन् । जसलेगर्दा ग्राहक आकर्षण बढाउँछ । त्यस्तै, स्थानीय बजारमा ग्राहकको भिड बढ्दा लघु तथा साना व्यवसायले ठूलो नाफा कमाउँछन् । तसर्थ, खाद्य तथा पेय पदार्थ उद्योगमा माग बढ्छ । जुन रेस्टुरेन्ट र क्याफेहरू नयाँ वर्षको दिन खचाखच भरिन्छन् । त्यसरी नै प्याकेट खाद्य, स्न्याक्स, कोल्ड ड्रिंक र बियरको बिक्री उच्च हुन्छ ।
रोजगारी सिर्जनामा योगदान
नयाँ वर्षको बेला अस्थायीरूपमा धेरै क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । जसमा भन्ने नै हो भने सेवा क्षेत्रमा ट्राभल गाइड, होटल स्टाफ, ट्रान्सपोर्ट सहायक, फुड डेलिभरी सेवा आदि हुन्छ । त्यसरी नै उत्पादन क्षेत्रमा हेर्ने हो भने उत्पादनको माग बढ्ने भएकाले खाद्य उद्योग, उद्योग, सजावट सामग्री उत्पादन गर्ने कारखानामा अस्थायी कामदारहरूको माग बढ्छ । त्यस्तैगरी मनोरञ्जनको क्षेत्रमा कन्सर्ट, मेलामा कलाकार, स्टेज स्टाफ, माइक–साउन्ड टेक्निसियन, सुरक्षाकर्मीको आवश्यकता पर्छ ।
नयाँ वर्ष र सरकारले पाउने आर्थिक लाभ
नयाँ वर्षमा सरकारको करमार्फत आम्दानी संकलन पनि हुन्छ । यसमा व्यापार व्यवसायको वृद्धिले गर्दा मूल्य अभिवृद्धि कर (भीएटी), व्यावसायिक कर तथा सेवा शुल्कका रूपमा सरकारलाई उल्लेखनीय आम्दानी हुन्छ । यसर्थ, पर्यटनको अलवा आन्तरिक पर्यटन प्रवर्द्धनको अवसर पनि यसमा हुने गर्छ । जसलेगर्दा सरकारले नयाँ वर्षलाई टुरिज्म प्रमोसन टुलको रूपमा प्रयोग गरी विशेष प्याकेजहरू र योजनाअघि सारेको पाइन्छ । (जस्तैः भिजिट नेपाल अभियान पनि हो) । यसको साथसाथै सार्वजनिक मेलाहरूबाट आम्दानी प्राप्त हुने गर्छ । त्यसमा स्थानीय तह वा नगरपालिकाहरूले सार्वजनिक स्थलमा मेलाहरू आयोजना गरी स्टल भाडा, प्रवेश शुल्कबाट राजस्व संकलन गर्छन् ।
बैंक तथा वित्तीय संस्थामा प्रभाव
नयाँ वर्षमा विभिन्न किसिमको छुट हुने हुनाले यस समयमा उपभोक्ताहरूले विभिन्न उपभोग समानहरू खरिद गर्ने गर्छन । जसलेगर्दा आफूसँग पैसा नभए पनि सापट गरेर पनि किन्ने गरिन्छ । जसलेगर्दा यस समयमा सामान्य व्यक्तिमा ऋणको भारमा वृद्धि हुन्छ । यसमा खासगरी नयाँ बाइक, मोबाइल, गहना, घरायसी उपकरण खरिद गर्न नयाँ वर्षको मौका पारेर मानिसहरूले ऋण लिन्छन् । त्यसरी नै बैंकहरू र माइक्रोफाइनान्स संस्थाहरूले नयाँ स्किम ल्याएर ऋण प्रवाह गर्छन् । फलतः मुलुकमा प्रविधिको विकास सँगसँगै डिजिटल कारोबारको प्रवर्द्धन हुँदै आएको छ । जसमा भन्ने नै हो भने नगदै बोकेर जानुपर्ने स्थिति कम हुँदै गएको छ । जसमा भन्ने हो भने नयाँ वर्षको किनमेलमा क्युआर कोड, मोबाइल बैंकिङ, कार्ड पेमेन्टको चलन बढ्दो छ । यसले डिजिटल अर्थतन्त्रलाई बल मिल्छ ।
मेला, प्रदर्शनी र मनोरञ्जन उद्योगको प्रभाव
हाल आएर विभिन्न स्थानहरूमा हुने मेला तथा सांस्कृतिक कार्यक्रमहरूलाई अवलोकन गर्ने हो भने जुन नयाँ वर्षको सन्दर्भमा राष्ट्रिय तथा स्थानीयस्तरमा मेला, नृत्य, संगीत कार्यक्रमको आयोजना गरिन्छ । जसले टिकट बिक्री, विज्ञापन, खाना स्टल आदिबाट आर्थिक लाभ प्राप्त हुन्छ । त्यसमा पनि जनमानसको लागि फिल्म र मिडिया उद्योगहरू सञ्चालन हुने गर्छ । वस्तुतः नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज, नयाँ म्युजिक भिडियो, हास्य कार्यक्रम प्रसारण आदि गरिन्छ, जसले दर्शक र विज्ञापनदाता आकर्षित गर्छन् ।
कृषिमा परोक्ष प्रभाव
नयाँ वर्षको आसपासको समय कृषकहरूका लागि पनि महत्वपूर्ण हुन्छ । यस समयमा नयाँ बाली लगाउने तयारीमा किसानहरूले बीउ, मल, औजार किन्न खर्च गर्ने समय पनि हो । उनीहरूले मेलामा कृषि उत्पादको व्यापारमा बढीभन्दा बढी अग्र्यानिक तरकारी, फलफूल, स्थानीय उत्पादनहरूको मेलामार्फत बिक्री हुन्छ ।
सामाजिक उद्यम र स्टार्टअपका अवसरहरू
नयाँ वर्षले सामाजिक उद्यमी र नयाँ व्यवसाय सुरुआत गर्नेहरूलाई ऊर्जा दिन्छ । उदाहरणका रूपमा भन्ने नै हो भने ई–कमर्स स्टार्टअपहरू नयाँ वर्षको अफर लिएर मार्केटमा छाउँछन् । त्यस्तैगरी स्थानीय उत्पादन (मेड इन नेपाल)लाई प्रवर्द्धन गर्ने अनलाइन बजार, एपहरू सक्रिय हुन्छन् ।
नकारात्मक आर्थिक पक्षहरू
यस समयमा उपभोग केन्द्रित मानसिकता रहेको हुन्छ । जसमा लामो समयको लगानीभन्दा अल्पकालीन खर्चमा जोड दिइनाले व्यक्तिगत बचत घट्छ । यस समयमा खासगरीकन मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन सक्ने स्थिति हुन्छ । अपितु नयाँ वर्षको माग बढेसँगै केही व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउँछन् । त्यसरी नै कर्जामा आश्रित उपभोग प्रवृत्तिमा शिथिलता आउन सक्छ । जसमा भन्ने नै हो भने ऋण लिएर उपभोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । जुन दीर्घकालीन आर्थिक दबाबको कारण बन्न सक्छ ।
निष्कर्षमा भन्नुपर्दा देशमा नयाँ वर्ष केवल सांस्कृतिक पर्व मात्र नभएर, आर्थिक चक्रलाई गति दिने अवसर पनि हो । यो समयमा पर्यटन, व्यापार, रोजगारी, कर संकलन, सेवाका सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिन्छ । अतः नयाँ वर्ष राष्ट्रमा केवल एक दिन मात्र होइन; यो सामाजिक, सांस्कृतिक र आर्थिक जीवनको महत्वपूर्ण हिस्सा पनि हो । यसले पुरानो परम्परालाई जोगाउँदै आधुनिकतालाई आत्मसात गर्न मद्दत पुर्याउँछ । यसमा भन्ने नै हो भने समाज, संस्कार र अर्थतन्त्रलाई एकैसाथ बलियो बनाउने यस्तो पर्व हामीलाई हाम्रो पहिचानको स्मरण गराउँछ । यद्यपि, उचित योजना, उपयुक्त विनियमन र दीर्घकालीन सोचको अभावमा यो अवसर उपभोगवादी प्रवृत्तिमा सीमित हुन सक्ने खतरा पनि रहन्छ ।