गत वर्ष अर्थात् सन् २०२४ को १२ महिनामा नेपाल सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या १३ लाख १५ हजार पुर्याउने लक्ष्य लिएको थियो । तर, सो लक्ष्य पूरा हुन सकेन । त्यसका अनेक कारणहरू रहेका थिए । जस्तै, असोज ११ र १२ दुई दिनसम्म बाढी पहिरो आयो । त्यस्तै गरेर भदौ ७ गते तनहुँमा भारतीय पर्यटक चढेको बस दुर्घटना भयो । एवंरीतले साउन ९ गते सौर्य एयरलाइन्सको हवाईजहाज दुर्घटना भयो भनेदेखि साउन महिनाकै २३ गते एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भयो । ती तमाम घटनाहरूले नेपाली पर्यटनमा नराम्रो असर पर्यो । तापनि सन् २०२४ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्या ११ लाख ४७ हजार पाँच सय ६७ जना पुग्यो । सो संख्या पनि हाम्रो लागि ठूलो उपलब्धि हो । किनभने सन् २०१९ को डिसेम्बर अन्तिममा उत्तरी छिमेकी देश चीनबाट फैलन सुरु भएको विश्वव्यापी कोरोना महामारीपछि नेपाली पर्यटनले ठूलै छलाङ मारेको हो । सन् २०२४ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्याङ्क तल उल्लेख गरिएको छ ।
१. जनवरी महिनामा ७९ हजार एक सय जना २. फेब्रुअरी महिनामा ९४ हजार चार सय २६ जना ३. मार्चमा एक लाख २८ हजार एक सय ६७ जना ४. अप्रिल महिनामा एक लाख ११ हजार तीन सय ७६ जना ५. मे महिनामा ९० हजार दुई सय ११ जना ६. जुन महिनामा ७६ हजार सात सय ३६ जना ७. जुलाई महिनामा ६४ हजार पाँच सय ९९ जना ८. अगस्ट महिनामा ७२ हजार सात सय १९ जना । ९. सेप्टेम्बर महिनामा ९६ हजार तीन सय पाँच जना । १०. अक्टोबर महिनामा एक लाख २४ हजार तीन सय ९३ जना ११. नोभेम्बर महिनामा एक लाख १४ हजार पाँच सय जना १२. डिसेम्बर महिनामा ९२ हजार ३४ हजार जना । यसरी तथ्याङ्क हेर्दा सन् २०२४ को १२ महिनामा जम्मा ११ लाख ४७ हजार पाँच सय ६७ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गर्न आएका छन् । साथै, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको हालसम्मको वार्षिक आगमन संख्या (तथ्याङ्क) हेर्ने हो भने अहिलेसम्म जम्मा चार वर्ष मात्रै १० लाख नाघेको देखिन्छ । हुन त आजभोलि नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा पर्यटकीय गतिविधि बढेको अवस्था छ, पर्यटकीय गतिविधिहरू चलायमान रहेको छ । फलतः सन् २०२५ मा सन् २०१९ को स्थितिमा पुग्ने अनुमान गरिएको छ, ‘विश्व पर्यटन उद्योग ।
यता हाम्रो देश नेपालको पर्यटन र समग्र पर्यटन उद्योगको कुरो गर्दाचाहिँ हाम्रो देश नेपाल ‘मास टुरिस्ट’को प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गइरहेको देखिन्छ । हुन त हाम्रो देश ‘मास टुरिस्ट’को गन्तव्य हुनका लागि पनि नेपाल सरकारले तुरुन्तै अन्तर्राष्ट्रिय हवाई उडान थप्न वा भनौँ अन्तर्राष्ट्रिय हवाई उडानको थप व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय हवाई उडान थप्न सके अहिल्यै नै साढे १७ लाखदेखि १८ लाखसम्म विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउन सक्ने देखिन्छ । तर, हाम्रो देशमा तत्काल त्यो सम्भावना देखिँदैन । जे भए पनि सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको हुपेई प्रान्तको राजधानी सरह वुहानबाट सुरु भएको ‘कोभिड–१९’ विश्वव्यापीरूपमा महामारीका रूपमा फैलन सुरु भएपछि त्यसको अत्यन्तै नराम्रो असर स्वरूप सन् २०२० र सन् २०२१ विश्वभरि धेरै कम संख्यामा मात्रै पयर्टकहरूले पर्यटक भई भ्रमण गरेका थिए । तर सन् २०२२ मा भने विश्व पयर्टनले गति लिन थाल्यो । यसरी सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट सुरु भएको ‘कोभिड–१९’ विश्वव्यापीरूपमा महामारीका रूपमा फैलन सुरु भएपछि विश्वभरिका मनिसहरूले एक–अर्को देशमा आफूले चाहेजसरी यात्रा गर्न पाएनन् । फलतः सन् २०२० र सन् २०२१–२०२२ मा विश्वव्यापी पर्यटन उद्योगले ठूलो क्षति व्यहोर्नुपर्यो । नेपाली पर्यटन क्षेत्रको त झन् के कुरो गराइ भो र ? त्यसैले नेपाली पर्यटनले पनि ठूलो स्केलमा क्षति व्यहोर्यो, तीन वर्षे कोरोना महामारी कालमा ।
हो त नि, सन् २०१९ को डिसेम्बर अन्तिमताका उत्तरी छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट सुरु भएको ‘कोभिड–१९’ विश्वव्यापी महामारीका रूपमा फैलन सुरु भएपछि, त्यसले विश्व अर्थतन्त्रलाई नै ‘डामाडोल स्थिति’मा पुर्याएको थियो । जुन कुरो विश्वका कुनै पनि सरकार प्रमुख, राज्य प्रमुख र भाइरल रोग विज्ञहरूले त्योस्तरमा आर्थिक संकट आउने र विश्वभरि सन्नाटाको छाउने स्थिति निर्माण हुने सायदै सोचेका थिए होलान् ? हुन पनि त्यो बेला केसम्म भयो भने कोभिड–१९ फैलिन सुरु भएपछि विश्वको समग्र अर्थतन्त्र र अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको पर्यटन उद्योग ८८–९० प्रतिशतदेखि ९४–९६ प्रतिशतसम्म चल्नै नसक्ने अवस्थामा पुगेको थियो । यसरी कोभिड–१९ ले विस्तारैविस्तारै विश्वव्यापी महामारीको रूप लिएपछि तत्कालै विभिन्न देशका सरकार प्रमुखहरूले एक देशबाट अर्को देशमा जाने यात्रुहरूलाई (हवाईजहाज, रेल, बस, कार, जिप आदि यात्रामाथि) प्रतिबन्ध लगाउन थाले । जसले गर्दा हवाई यातायात, रेल, बस, कार, जिप व्यवसायी र होटल व्यवसायीहरूले नराम्रोसँग मार खानुपर्यो । हेर्दाहेर्दै विश्व नै एक किसिमले सुनसान (श्मशान–मसान घाट) बन्न पुग्यो ।
भलै त्यो बेलाका केही देशका उग्रराष्ट्रवादी नेता तथा सरकार प्रमुखहरूले चाहिँ ‘नोभेल कोरोना भाइरस’ (पछि कोभिड–१९ नाम दिइएको) लाई ‘यो केही पनि होइन, सामान्य भाइरस हो, यो चाँडै हट्छ’ भनी मनगढन्ते ढंगले ‘अन्डर–माइन्ड’ गरिरहेका थिए, खिल्ली उडाइरहेका थिए । तर, ‘नोभेल कोरोना भाइरस’ तत्काल हटेर जानुको सट्टा झनै फैलिँदै गएर विश्वव्यापीरूपमा महामारीको रूप लिएको थियो । कोरोना महामारीका सम्बन्धमा तथ्याङ्क हेर्दा लगभग ७० लाख १० हजार सात सय ६६ जनाले (कोभिड–१९) का कारण आफ्नो अमूल्य जीवन गुमाएको देखिन्छ । त्यस्तै, ७० करोड ४७ लाख ५३ हजारभन्दा मानिसहरू कोरोना महामारीको प्रकोपमा परेका थिए (तथ्याङ्क स्रोतः वोर्ल्डो मिटर ।)
माथि नै एक प्रसंगमा उल्लेख गरिएझैँ सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट सुरु भएको ‘नोभेल कोरोना भाइरस’ (पछि कोभिड–१९) ले विश्वव्यापीरूपमा महामारीका रूपमा फैलिएपछि त्यसले विश्व पर्यटन क्षेत्रमा खरबौं डलरको क्षति भयो भने मूल्य तोक्नै नसकिने मानवपुँजीको पनि ठूलो क्षति हुन पुग्यो । त्यति मात्रै होइन, त्यो बेला विश्वभरि एक किसिमको मूर्दाशान्तिको स्थिति पैदा भएको थियो । फलतः विश्व पर्यटन जगतमा सोच्दै नसोचेको स्तरमा ‘डाउन–फल’ भयो । त्यसो भए तापनि सन् २०२२–२३ देखि चाहिँ विश्व पर्यटन क्षेत्रमा ‘अप–राइज’ सुरु भयो । फलतः सन् २०२३ मा ९१५ मिलियन पर्यटकहरू विश्व भ्रमण गर्न निक्ले । त्यस्तै, गरेर सन् २०२२ चाहिँ नौ सय मिलियन अर्थात् ९० करोड पर्यटकहरू विश्व भ्रमण गर्न निक्लेका थिए । जबकि, सन् २०२१ मा केवल छ सय ६७ दशमलव ७३ मिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए । अझ सन् २०२० मा त चार सय १५ मिलियन पर्यटकले मात्रै विश्व भ्रमण गरेका थिए । त्यसरी तथ्याङ्क हेर्दा सन् २०१९ मा चाहिँ एक दशमलव पाँच बिलियन अर्थात् एक अर्ब पाँच करोड पर्यटकहरू विश्व भ्रमण गर्न निक्लेका थिए । यो संख्या नै हालसम्म विश्व भ्रमण गर्न निक्लेका पर्यटकको अहिलेसम्मको धेरै संख्या हो ।