काठमाडौं । भर्खर मात्रै एसईईको परीक्षा सकिएको छ । परिणाम कस्तो आउला भन्ने निश्चित छैन । यतिखेर धमाधम यो परीक्षाका उत्तरपुस्तिका जाच्ने काम हुनुपर्ने हो । तर शिक्षकहरू सडकमा उत्रिएका कारण त्यसको सुरुवात समेत भएको छैन । अत्यन्त नोक्सान पर्ने विद्यार्थी र तिनका अभिभावकहरूलाई हो समयमा उत्तरपुस्तिका जाच्ने काम भएन भने स्वाभाविक छ परिणाम पनि ढिलो नै आउने भयो । यसले कि त शैक्षिक पात्रोलाई प्रभाव पार्छ या उत्तरपुस्तिका जाच्ने काम गुणस्तरीय हुँदैन । जे भए पनि त्यसको मार खेप्ने भनेको विद्यार्थी र तिनका अभिभावकहरू नै हुन् । अर्कोतर्फ माध्यमिक तहको पठनपाठन प्रभावित भएको धेरै दिन भइसकेको छ । यसले पनि विद्यार्थीको शिक्षाप्राप्ति गुणस्तरीय हुँदैनन् । त्यसै पनि झन्झन् पछिल्ला वर्ष विद्यार्थीका उत्तीर्ण प्रतिशत घट्दै गएको छ । यसतर्फ शिक्षकहरू कहिलै पनि जिम्मेवार भएनन् भन्ने आरोप लाग्ने गरेको छ । अघिल्लो वर्षको एसईईमा उत्तीर्ण संख्या आधा प्रतिशत पनि कटेको थिएन । यस्तो परिणामप्रति कोही पनि जिम्मेवार भएको पाइएन । शिक्षकले यतिलामो आन्दोलन चलाउँदा र दर्जनौँ माग राख्दा गलत अर्थात् न्यून परिणाम आफूहरू पनि जिम्मेवार हुने भनेर कतै पनि प्रतिबद्धता जनाएको देखिँदैन ।
शिक्षकहरू अहिले राजधानीका सडकमा आन्दोलनरत छन् । उनीहरू भजनकीर्तन, दोहोरी नाचगान र जादु देखाउनेदेखि भाषण गर्ने आदिमा व्यस्त छन् । यसको अर्थ हो, उनीहरू यो कलामा भने पोख्त छन् । तर अध्यापनमा भने उनीहरूको दखल रहेन छ कि वा ध्यान दिँदारहेनछन् भन्ने प्रश्न उठ्न थालेको छ । शिक्षकहरूले केन्द्रीय राजधानीको मूल सडकमा यस्तो नाचगान देखाइरहेकै बेला केही विद्यालयका नतिजाहरू सार्वजनिक भएका समाचारहरू आइरहेका छन् । जसमा कतिपय सामुदायिक विद्यालयका कक्षा ८ को परीक्षामा ठूलो संख्याका विद्यार्थीले शून्य अंक प्राप्त गरेको बताइएको छ । सामुदायिक विद्यालयका कक्षा ८ को परीक्षा जिल्लास्तरीय हुन्छ । यदि यो परिणामलाई दुःखद् मान्ने हो भने यो अवस्थाको दोषी को हो भन्ने पनि खोजी हुन आवश्यक छ । निश्चय नै विद्यार्थीले सही उत्तर नदिएका कारण यस्तो परिणाम आएको भन्न र बुझन सकिन्छ । एउटा विद्यार्थीले कहिल्यै पनि आफू असफल बनौँ भन्ने चाहँदैन । उसले शिक्षकबाट जस्तो अध्यापन भएको छ त्यही कुरा उत्तरपुस्तिकामा उतार्ने हो । त्यसकारण नै विद्याथी असफल हुनुभनेको शिक्षक पनि असफल हुनु हो भनिन्छ । यतिलामो आन्दोलन हुँदा शिक्षकहरूले आफ्नो सुविधा मात्र खोजेको देखिन्छ । काठमाडौंका सडकमा शिक्षकहरूले कतै रमाइलो, कतै जादु, कतै आक्रोशसहितका भनाइहरू राखिरहँदा कतै पनि विद्यार्थीका पक्ष प्रतिविम्बित भएको देखिएन ।
शिक्षकहरूको यो आन्दोलनको प्रमुख माग भनेको विद्यालय शिक्षा ऐन हो । उनीहरू लगातार दुई सातादेखि काठमाडौंका सडक प्रदर्शनमा रमाइरहेकै छन् । यति हो यो प्रदर्शनी उग्र भएको छैन । केहीअघि राजावादीहरूको तीनकुने प्रदर्शनीमा जस्तो उग्रता देखियो, जसले ठूलो जनधनको क्षति गरायो त्यस्तो यहाँ भएको छैन । यो एउटा सकारात्मक पक्ष हो । यसमा सरकारले यथाशक्य चाँडो ऐन ल्याउछौँ भन्दै घर फर्किन शिक्षकहरूलाई आग्रह गरेको अवस्था पनि छ । शिक्षकहरूले खोजेको पनि ऐन आउने सुनिश्चितता नै हो । नत्र सडकमा बसेर संसद्को काम गर्ने कुरा हुँदैन । यही क्रममा सरकारले पनि विद्यार्थीको पठनपाठनको गुणस्तरमा कमी आयो भने वा त्यस्तो देखियो भने सम्बन्धित शिक्षक दण्डित हुनुपर्छ । अब बन्ने ऐनमा यस्तो प्रावधान पनि आओस् । हालै प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले संशोधनकर्ता सांसदहरू र सरोकारवालाहरूसँग छलफल चलाइरहेको भन्ने सुनिएको छ । त्यसमा अब यो पक्षबाट पनि बहस होस् भन्ने कामना हो ।