काठमाडौं । विद्युतीय सवारी साधनहरूको बीमाको बारेमा नेपाल अटोमोबाइल डिर्लस एसोसिएसन (नाडा) र बीमा प्राधिकरणबीच छलफल भएको छ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग उनकै कार्यकक्षमा भेटगरी विद्युतीय सवारी साधनहरूको बीमा नीतिका सम्बन्धमा छलफल गरेको हो ।
छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी साधनहरूको सन्दर्भमा हालसम्म बीमा नीति तयार नभइसकेकाले विद्युतीय सवारीसाधनको बीमा सम्बन्धमा स्पष्ट, पारदर्शी र सुसंगत नीति निर्माणको आवश्यकता रहेको भन्दै विद्युतीय सवारी साधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा समेत प्राधिकरणले आवश्यक नीति बनाउनुपर्ने धारणा व्यक्त गरेको नाडाले जानकारी दिएको छ ।
छलफलको क्रममा प्राधिकरणले सो नीतिमा विद्युतीय सवारी साधनहरूको स्पेयर पाट्र्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने, क्लेम प्रक्रियामा सुधार ल्याउने, बीमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिएको छ । त्यसैगरी प्राधिकरणले नाडालाई समेत उक्त बीमा नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न गराउने छ ।
विद्युतीय सवारी साधनहरूका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नु पर्ने आवश्यकता देखिएकाले न्यूनतमरूपमा दक्षिण एसियाली राष्ट्रहरूमा प्रयोगमा रहेका नीति र अभ्यासहरूको अध्ययन गरी तत्सम्बन्धमा नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गर्नेछ । प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, तथा बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारी समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र नाडाका साधारण सदस्य महेश पाल समेतको उपस्थिति रहेको जानकारी नाडाले दिएको छ ।