काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र मुक्तिनाथ फुड बैंक लिमिटेडबीच संस्थागत परामर्श सेवासम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । एक कार्यक्रमका बीच मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक श्री मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले उक्त सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।
संस्थागत परामर्श सेवासहित पुँजी संरचना परिवर्तन, हकप्रद सेयर निष्काशन, पुँजी संकलनलगायतका कार्य गर्न आवश्यक परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यबमोजिम कार्य गर्न आवश्यक सहजीकरणको लागि उक्त सम्झौता गरिएको हो । २०८२ वैशाख १७ गते हुन गइरहेको विशेष साधारणसभाबाट हकप्रद सेयर पारित गरी आव २०८१/८२ भित्र ४० करोड चुक्ता पुँजी पुर्याउने कम्पनीले जानकारी गराएको छ । साथै, आव २०८२/८३ भित्र सर्वसाधारणलाई सेयर निष्काशन गर्ने समेत लक्ष्य लिएको छ ।
मुक्तिनाथ फुड बैंक लिमिटेड, धितोपत्र बजारमा सूचीकृत भई कृषि मूल्य शृङ्खला विकासमा कार्यरत मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनीको रूपमा २०७९ सालमा स्थापना भएको कम्पनी हो ।