काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्र्तगत वैशाख महिनाभित्र संघीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आईसीयुको सेवा विस्तार गर्नेछ । वीरको आईसीयुमा नौ शय्या थप गर्ने कार्यक्रम वैशाख दोस्रो साता राखिएको छ । यसैगरी भरतपुर अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्दैछ । यसैगरी, जलन वार्ड, सिमुल्टेसन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ ।
भक्तपुर क्यान्सर अस्पतालले पीआईसीयु तथा पेडियाट्रिक वार्ड वैशाख दोस्रो साता आरम्भ गर्दैछ । भेरी अस्पतालले मृगौला प्रत्यारोपण सेवा वैशाख दोश्रो साताबाट आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ । यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेस्रो साता औपचारिक सञ्चालनमा ल्याउनेछ । धनगढीको गेटा अस्पतालले भने वैशाख तेस्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पतालहरूलाई थप तथा विस्तार गर्न निर्देशन दिएका थिए । सोहीअनुसार गत चैत्रमा १२ संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत यसलाई निरन्तरता दिइएको छ । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयनका क्रममा रहेको जानकारी दिए । ‘केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन्,’ उनले भने, ‘स्वास्थ्य सेवा सुधार र विस्तार गर्ने मन्त्रीज्यूको नीतिअनुसार काम भइरहेको छ ।’