काठमाडौं । भारतीय विद्युत् र आभाष तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर निर्माणधीन अरुण–३ जलविद्युत् आयोजनाको अवलोकन गर्ने भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा मंगलबार नेपाल आउन लागेका मन्त्री खट्टरले भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेबीएन)को स्वामित्वमा रहेको एसजेबीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षण समेत गर्न लागेका हुन् । साथै, ऊर्जामन्त्री दीपक खड्का पनि अरुण–३ को अवलोकन गर्न पुग्ने बताइएको छ । उक्त कार्यक्रममा एसजेवीएनका अध्यक्ष राजकुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ । मन्त्री खट्टरले मंगलबार नै अरुण–३ जलविद्युत् आयोजनाको बाँध तथा पावर हाउस क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किने छन् ।
साथै, मंगलबार नै ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले विभिन्न ठाउँका सवस्टेसन संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम छ । उस्तै, ऊर्जामन्त्री खड्कासँग भारतीय विद्युत्मन्त्री खट्टरले अन्य जलविद्युत् आयोजनामा भारतीय लगानी साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्यतालिका छ । यसैगरी दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने बताइएको छ । वैशाख १० गते मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको दर्शन गरी नेपालीमन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर भारत फर्किने एसजेवीएनले जानकारी दिएको छ ।
एसजेवीएनले संखुवासभामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको काम अहिले तीव्र गतिमा भइरहेको छ । अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगिसकेको छ । कम्पनीले सो आयोजनाको काम छिटो सक्ने लक्ष्यका साथ गरिरहेको छ । यस्तै, एसजेबीएनको सहायक एसएपीडीसीले छ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।