कुनै पनि आयोजना समयमा सकिएन भने म्याद थपिनेले लागत बढ्ने मात्र होइन नागरिकले कस्तो कष्ट व्यहोर्नुपर्छ भन्ने नारायणगढ–बुटवल सडक खण्ड यतिबेला सबैले बुझने गरी उदाहरण भएको छ । यसको अवलोकन गर्न यसै हप्ता त्यता गएका प्रधानमन्त्रीले जनताले अधिक दुःख नपाऊन् भनेर आयोजना समयमा नै सक्ने लक्ष्य रहेको बताए । तर यस्तो आयोजना समयमा नै सक्ने भनेको समयचाहिँ कति हो भन्ने उनले खुलाएनन् । खुलाइएको थियो भने त्यस समयमा पनि सकिने अवस्था छैन । यसको उदाहरण पनि प्रधानमन्त्री आफैँ भएका छन् । उनले यो सडकको केही बीचसम्म पुग्ने र त्यहाँ गएर निर्देशन दिने थियो तर सुरक्षा निकायले मानेन । उनी जहाँ पुग्न लागेका हुन त्यहाँसम्म नै पुग्न पनि पाँच सात घण्टा लाग्ने भयो र यो बेलासम्म सर्वसाधारणका लागि यो बाटो पूरै बन्द गरिनुपर्ने भयो । कथंकाल बीचमा नै केही भयो भने अर्को आपत् आइलाग्ने त छँदैछ । यी सबै अवस्था बुझेपछि जनताको कष्ट मेटाउने बाटो समयमा नै सकिन्छ भन्ने सन्देश दिएर उनी फर्किए ।
प्रधानमन्त्री त फर्किए तर अनुगमनमा गएका मन्त्रीले भने अड्डी नै । उनलाई त्यो बाटा नहिँडी भएन । त्यसपछि यताउता सवैतिरबाट आउजाउ गर्ने यातायत सबै रोकेर चार घण्टा जाम छिचोल्दै प्रहरीको ‘एस्कर्टिङ’मा बल्लबल्ल पार गराइयो । जब विभागीय मन्त्री र प्रधानमन्त्रीकै हविगत यस्तो हुन्छ भने आमनागरिकले यो बाटो छिचोल्न कति समय लाग्ला र कति हन्डर खानुपर्ला भन्ने उल्लेख भइराख्नु नपर्ला । प्रधानमन्त्रीलाई जानै नदिइएको र मन्त्रीलाई अघिपछि प्रहरी राखेर अरू यातायात रोकेर चार घण्टामा पार गराइएको दाउन्ने खण्डको यो सडकको लम्बाइ भने १४ किलोमिटर मात्रै हो । सम्झौताअनुसार काम गरिएको भए हाल चलिरहेको बुटवल–नारायणगढ सडक खण्डको विस्तारको काम २०७९ साउनमा नै सकिनुपर्ने थियो । यो सडकको ठेक्का २०७५ चैतमा नै लागेको हो । तर अहिलेसम्म यसको काम ६३ प्रतिशत मात्र भएको छ । अघिल्लो हप्ताको सामान्य वर्षाले पूर्वपश्चिम राजमार्गको लाइफलाइन मानिएको दाउन्ने खण्ड पूरै अवरुद्धमा पर्यो । दुई पटक म्याद थपेर ८ साउन ०८२ सम्ममा सक्ने भनिएको बाटा दोस्रो म्याद सकिन अब तीन महिना मात्रै बाँकी छ । यता मध्यवर्षा सुरु भएको छ । कामको प्रगति प्रगति भने ६३ प्रतिशत मात्र भएको अवस्था छ । स्वाभाविक छ अब साउन लाग्दानलाग्दै अर्को म्याद थप्नुपर्ने हुन्छ वा थपिन्छ ।
देशको पूर्वपश्चिमको भू–भाग जोड्ने बुटवल–नारायणगढ सडकको विकल्प छैन । यसको हाल चर्चामा रहेको दाउन्ने खण्ड वास्तवमा नै संवेदनशील क्षेत्र हो । घाम लाग्नासाथ धुलोले भरिने र सामान्य पानी पर्नासाथ हिलोले चिप्लिने यसको मूल समस्या हो भने यो खण्ड निर्माणका लागि यति लामो समय किन लगाइयो भन्ने प्रश्न सामान्य छैन । योजनाका सूचना अधिकारीका अनुसार समस्या नदोहोरियोस् भनेर आवतजावत नै रोकेर मर्मत सुरु गरेको थियो । काम सुरु हुनासाथ पानी प¥यो । यसले आवागमन नै रोकिएको अवस्थाले पूर्व–पश्चिम जोड्ने पूरै यातायात नै ठप्प भएको बुझाउँछ । त्यसै पनि बर्खाको समयमा सडक निर्माण कार्य जोखिमयुक्त नै हुन्छ । त्यसमाथि यो विकल्पविहीन ठाउँ हो । तराईका अन्य क्षेत्रमा अस्थायी मार्ग निर्माण गरेर पनि यातायात सञ्चालनमा आउँछन्, यो ठाउँ त्यस्तो होइन । गैँडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ र दाउन्ने–बुटवल दोस्रो खण्ड ४९ किमीको दूरी हो । यतिबाटो विस्तारका लागि १६ अर्ब ९९ करोडमा रुपैयाँमा ठेक्का लागेको थियो । सरकार पटकपटक म्याद थप्दै जाने बुझेर नै ठेकेदार कम्पनीले काममा आलटाल गरेको बुझन सकिन्छ ।