काठमाडौँ । लोकतन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै नेपाली कांंग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।
उनले यस ऐतिहासिक दिनका अवसरमा वीर योद्धाहरूको साहस, सङ्कल्प र बलिदानको धरोहरका रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण गर्न आग्रह गरे । उनले लोकतन्त्रको मूल्य र मान्यतालाई संरक्षण गर्न सबै सजग र सचेत रहन आग्रह गरे ।
सभापति खड्काले २००७ साल अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि २०६२÷६३ सालमा कांग्रेस नेतृत्वमा अन्य राजनीतिक दलहरूद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ साल वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गरे ।
राष्ट्रिय स्वाधिनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर सहिदहरूको समर्पण, साहस र बलिदानको स्मरण र सम्मान गर्दै कावा सभापति खड्काले श्रद्धाञ्जली अर्पण गरे ।
उनले मुलुकमा नेपाली नागरिकको चाहना अनुरुप आफ्ना जनप्रतिनिधिद्वारा संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको संविधान जारी भएर कार्यान्वयन भइसकेको उल्लेख गरे । संविधान दिएका अधिकारको सुदृढीकरण गर्दै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउने जिम्मेवारी सबैको काँधमा आएको उनले बताए ।
कावा सभापति खड्काले युगान्तकारी परिवर्तन गर्ने वैशाख ११ को यो ऐतिहासिक दिनलाई सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउनुपर्नेमा जोड दिए ।