काठमाडौं । ठमेलको पुरातात्विक कमलपोखरी छायादेवी कम्प्लेक्सको अतिक्रमणमा पुनर्स्थापनाका लागि भएको संघर्ष सडक, सदन र अदालतसम्म पुगेको छ । काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेलको पर्यटकीय क्षेत्रमा रहेको पुरातात्विक कमलपोखरी हाल छायादेवी कम्प्लेक्स प्रालिबाट पूर्णरूपमा अतिक्रमित पुरातात्विक सम्पत्ति पुनर्स्थापनाको लागि सडक र सदनसम्म पुगेको हो ।
लिच्छविकालीन गुणकामदेवको पालामा थँबहिल विक्रमशील महाविहारअन्तर्गत बुद्धधर्मको संरक्षण र संवर्द्धनका लागि सो कमलपोखरी बौद्ध ग्रन्थ सद्धर्मपुण्डिक सूत्रका आधारमा तान्त्रिक विधिपूर्वक निर्माण गरिएको ऐतिहासिक दस्ताबेज प्रमाणहरू पाइन्छ । थँबहिलको सिंहसार्थ गरुड भगवान् गुठीअन्तर्गत पूजा संस्कारहरू गर्न सो कमलपोखरीको कमलको फूल र पातका साथै जल पनि प्रयोग गरिन्थ्यो । अन्य धार्मिक गतिविधिहरू पनि सो पोखरीसित सम्बन्धित रहेको थियो ।
जहानियाँ राणा शासनको समय १९७७ सालमा बलजफ्ती जनरल केशर शमशेरले आफ्नो दरबारको शोभा बढाउन भनी आफ्नो व्यक्तिगत प्रभावको आडमा सत्ता र शक्तिको गलत प्रयोग गरेर सो २६.५ रोपनीमा फैलिएको कमलपोखरीसहितको डिल जग्गा दरबारको घेराभित्र पारी सुरु भएको अतिक्रमणको सिलसिला उनको मृत्युपश्चात् छोरा केयूर शमशेर, केयूर शमशेरको पत्नी अम्बिका राणा, नातेदार प्रतिमा राणा पाँडे हुँदै हाल प्रतिमा राणा पाँडेका पति पृथ्वीबहादुर पाँडेद्वारा सञ्चालित तथा अध्यक्ष रहेको छायादेवी कम्प्लेक्स प्रालिको छाया सेन्टर व्यापारिक भवनको नामबाट पूर्णरूपमा अतिक्रमित भएको छ ।
धर्मकीर्ति रक्षार्थ थँबहिलका सबै गुठियारहरू सुरुका क्रममा एकजुट भए पनि हाल केही विपक्षीहरूको डर र लोभमा फसेको पनि देखिन्छ । तर सो राज गुठी कायम कमलपोखरी पुनर्स्थापनाका लागि केही इमान्दार गुठियारहरूको बुद्धधर्मप्रतिको अटूट आस्था र हाम्रो आदिवासी नेवाः राजनीतिक अभियान संस्थाको २०७५ सालदेखि निरन्तर सडक, सम्बन्धित सरकारी कार्यालयहरू, यूएन कार्यालय, सदन, अदालतमा विविध किसिमले ध्यानाकर्षण गराउँदै न्यायको लागि पहलकदमीहरूले गर्दा जन चेतनाहरू व्यापक मात्रामा बढ्न गएको छ । विभिन्न पार्टी, संघसंस्थाहरू, पत्रकारहरू, संस्कृतिविद्हरू, वकिलहरूलगायत अन्य अभियन्ताहरूसित पनि हातेमालो गर्दै हालसम्म पनि आन्दोलनका कार्यक्रमहरू जारी नै रहेको छ ।
जसको फलस्वरूप सर्वोच्च अदालतमा २०७३ सालमा दिएको निस्साको विपक्षीहरूले पटक–पटक पेसी नै सारेर स्थगित भइरहेको मुद्दा २०८० चैतदेखि संयुक्त इजलासमा बहस सुनुवाइ निरन्तररूपमा हुँदै सो मुद्दाका सम्बन्धित मिसिल फाइलहरू सबैजसो झिकाउँदै २०८१ पुस ४ गतेको संयुक्त इजलासले मुद्दाको स्थिति फैसलाको क्रममा नै पूर्ण इजलासमा पेस गर्ने आदेश भएको छ । यही २०८२ वैशाख ११ गते पूर्ण इजलासमा बस्ने पेसी मिति समेत तोकिएको अवस्था छ ।
‘रानीपोखरी पुनर्निर्माण गरेजसरी नै ठमेलस्थित असान्दर्भिक छायादेवी कम्प्लेस भत्काएर कमलपोखरी पुनर्निर्माण गर्नु कानुनी र व्यावहारिकरूपमा न्याय हो ।’ आदिवासी नेवा: राजनीतिक अभियान क्षेत्रपाटीले भनेको छ ।