काठमाडौं । नेपाल एक विकासोन्मुख राष्ट्र हो । कतिपय ठाउँ अव्यवस्थित देखिए पनि धेरै आशालाग्दा ठाउँहरू हेर्न सकिन्छ । नेपाललाई एक फन्को मारेर हेर्ने हो भने नेपाल विश्वको अति सुन्दर राष्ट्र, जसमा धेरै नै सम्भावना रहेको एक अलौकिक मुलुक हो ।
देश विकास गर्न युवाशक्तिको आवश्यकता पर्छ । श्रम बजारमा युवाको अति नै विशेष भूमिका छ । नेपाल एक हाँसिरहेको देश हो । परिश्रमी मानिस तथा सोझा–सिधा, परिश्रमी हातहरू छन् यहाँ । हँसिला मुख छन् यहाँ । दिनभरि दुःख गरे पनि बेलुका परिवारसँग बसेर मीठो मसिनो खाएर पनि हाँस्ने मानिस नेपालमा बसोबास गर्छन्, यो नेपालको पहिचान हो ।
आफ्नो ठाउँलाई माया गर्ने, जेछ त्यही खाएर सन्तुष्ट हुने, दिन सक्ने, सत्कार गर्न सक्ने मानिस बसोबास गर्ने थलो हो नेपाल । यहाँ अवसर पाउने हो भने कोही पनि मानिस अन्य मुलुक जानुपर्ने सोच्न पनि सक्दैन थिए । देशप्रतिको प्रेम यहाँका मानिसहरूमा गहिरो छ । सोझा सिधा भएका कारण सबैले यहाँका मानिसलाई प्रयोग पनि गरिरहेका छन् ।
देश राम्रो हुँदैछ, आशालाग्दा कुरा धेरै छन् यहाँ । यस्ता मानिस भएका देशमा यो जनशक्तिलाई देशमै राख्न प्रेरित गर्नु राज्यको दायित्व हो । नेपालमा सडकको विकास, सञ्चारको विकाससँगै शिक्षामा पनि क्रमिक सुधार आइसकेको छ । स्वास्थ्यको क्षेत्रमा पनि निजी क्षेत्रको लगानी बढेको छ। यसैगरी अन्य क्षेत्रहरूमा पनि लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने उत्पादक क्षेत्रमा लगानी वृद्धि हुने साथै युवालाई देशमै रोजगारीको अवसरहरू प्रदान गर्न सकिने भएकाले देशको मुहार फेर्न मद्दत गर्छ ।
दैनिकरूपमा हजारौँ युवा काम गर्ने नाममा तथा पढ्ने नाममा विदेश गएका छन्, जसले ब्रेनड्रेन हुनुका साथै युवाशक्तिको पलायन भइरहेको छ । जनशक्तिको पलायन एक असल सम्भावनालाई गुमाउनु हो, त्यससँगै देशमा युवाशक्ति रित्याउनु पनि हो ।
त्यसैले राज्यले उचित नीति अवलम्बन गर्न सकेमा देशमै अवसर सिर्जना गरेर जनशक्तिलाई उपयोग गरी देश विकासमा योगदान हुन सक्छ । साथै, राज्यले युवालाई कामको ग्यारेन्टी दिन सक्यो भने विदेश गएकालाई पनि फर्केर देशमा योगदान दिन उत्प्रेरित गर्न सकिन्छ ।
त्यसैले जनशक्तिको पलायन जति भए पनि त्यसलाई हामीले आशाको किरणको रूपमा लिन सकिन्छ । किनभने विदेशबाट धेरै कुरा सिक्न सकिन्छ । त्यसको आत्मनिर्भरता नेपालमा ल्याउन सकियो भने पलायनलाई निराशाको विषय होइन, सम्भावनाको रूपमा लिएर दीर्घकालीन रणनीति तयार गर्नु राज्यको कर्तव्य हो र यो आजको आवश्यकता पनि हो ।
नेपाली युवा बाहिर गएर धेरै परिश्रम गर्छन्, तर त्यो परिश्रमलाई देशको विकासमा लगाउन सकियो भने देशले होनाहार युवालाई अरूको देशमा श्रम गर्न बाध्य नबनाई, आफ्नै देशको विकासमा मद्दत पाउने देखिन्छ। नेपाल एक विकासोन्मुख राष्ट्र हो । विविध भौगोलिकता, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र परिश्रमी जनशक्तिले भरिपूर्ण यो राष्ट्रमा अपार सम्भावना रहेको छ । यद्यपि, यी सबै सम्भावनाको पूर्ण उपयोग हुन नसक्नु, समुचित नीति तथा संरचनाको कमी तथा व्यवस्थापनको कमजोरीले गर्दा नेपालले अपेक्षित विकासको गति लिन सकिरहेको छैन ।
नेपालको समृद्धिको मूल आधार युवाशक्ति हो । राष्ट्रको हरेक निर्माण कार्यमा युवाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। तर दुःखको कुरा के छ भने आज नेपालमा शिक्षित, दक्ष तथा ऊर्जावान जनशक्ति ठूलो संख्यामा विदेश पलायन भइरहेको छ । यो पलायनको लहरले देशको उत्पादनशीलता, सामाजिक संरचना र दीर्घकालीन विकासमा गहिरो असर पारेको छ ।
जनशक्तिको पलायन भन्नाले कुनै देशको नागरिक, विशेषतः युवावर्ग, आफ्नो देशमा उपयुक्त अवसर, रोजगारी वा जीवनस्तरको अभावमा अन्य देशमा स्थायी वा अस्थायीरूपमा बसोबासका लागि जाने प्रक्रिया हो । नेपालमा यो प्रक्रिया विशेषगरी अध्ययन, रोजगारी, व्यवसाय वा स्थायी बसोबासको लागि भइरहेको छ ।
नेपालमा जनशक्तिको पलायन हुनुका मुख्य कारणहरूमा रोजगारीको कमी प्रमुख हो । नेपालमा शिक्षाको प्रसार त भएको छ तर त्यसअनुसार रोजगारी सिर्जना हुन सकेको छैन । उच्चशिक्षा प्राप्त युवाले आफूअनुकूलको रोजगारी नपाउँदा विदेश जान बाध्य छन् । साथै, अस्थिर राजनीतिक वातावरणले पनि असर पारेको छ । नेपालमा दशकौंसम्मको राजनीतिक संक्रमण र अस्थिरताले लगानी वातावरण नकारात्मक बनेको छ । यसको असर रोजगारी सिर्जना, निजी क्षेत्रको विस्तार र औद्योगिकीकरणमा परेको छ ।
यसको साथै शिक्षाको गुणस्तर र पहुँच पनि अर्को प्रमुख कारण हो । अन्तर्राष्ट्रियस्तरको शिक्षाको अभावले गर्दा विद्यार्थीहरू उच्चशिक्षाको लागि विदेश जाने प्रवृत्ति बढ्दो छ । कतिपयले त्यही पढाइपछि त्यहीँ बस्ने निर्णय पनि गर्छन् । नेपालमा अवसरको अभाव र सामाजिक सुरक्षाको कमीले पनि मानिस विदेश जान प्रेरित भएका छन् । स्वास्थ्य, यातायात, सामाजिक सुरक्षा, नियमप्रणाली, न्यायप्रणाली आदि क्षेत्रमा हुने असमानता, ढिलासुस्ती र गैरजिम्मेवार व्यवहारले युवालाई निराश बनाउँछ । साथै, विदेशी मोह र जीवनशैलीको आकर्षणले पनि नेपाली युवा विदेश जाने गर्छन् । विदेशको चम्किलो जीवनशैली, प्रविधिमा अगाडि भएको विकास, कामप्रतिको सम्मान र पारिश्रमिकले पनि नेपाली युवालाई तानिरहेको छ ।
तर जनशक्तिको पलायनको सकारात्मक पक्षहरू पनि उत्तिकै छन् । यद्यपि पलायनलाई नकारात्मकरूपमा हेर्ने गरिन्छ, यसको केही सकारात्मक पक्षहरू पनि छन् । जसले रेमिट्यान्स ल्याउने गर्छ । विदेश गएका नेपालीले पठाउने रेमिटेन्स नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याइरहेको छ । यो देशको विदेशी मुद्रा सञ्चितिको मुख्य स्रोत हो । साथै, विदेशी ज्ञान र प्रविधिको हस्तान्तरण पनि हुने गर्छ । विदेशमा बसेर आधुनिक प्रविधि, व्यवस्थापन प्रणाली र कार्यशैली सिकेका नेपालीले देश फर्किएपछि नयाँ सोच ल्याउन सक्छन् ।
सामाजिक रूपान्तरण पनि हुने गर्छ । परदेशको अनुभवले फर्किएका व्यक्तिहरूमा सशक्त नेतृत्व क्षमता, परिवर्तनशील सोच र उद्यमशीलताको विकास हुन्छ । साथै, वैश्विक सम्बन्ध विस्तार पनि हुने गर्छ । विदेशमा रहेका नेपालीहरू नेपाली उत्पादन, संस्कृति, पर्यटन र लगानीको प्रवर्द्धनमा पनि सहायक भइरहेका छन् । साथै, यसले रोजगारी गुमाउनु र उद्योगलाई युवाको अभाव हुने बनाउँछ । देशभित्रका उद्योग, व्यवसाय, निर्माण कार्यमा काम गर्ने जनशक्ति नहुँदा तिनीहरू चलायमान रहन सक्दैनन् ।
देशमा रहेका सम्भावनाहरूको उपयोग नगरी, जनशक्तिलाई बाहिर पठाउँदा आत्मनिर्भरता घट्छ । भविष्यमा पुनः विकासका लागि वैदेशिक सहयोगमा निर्भर हुनुपर्छ । त्यसैले आजै सोचौँ । युवालक्षित कार्यक्रम गरौँ । युवालाई देशको शक्तिको रूपमा चिनौँ । देशमा सकारात्मक संकेतहरू र सम्भावनाहरू धेरै भएका छन् । नेपालमा पछिल्ला वर्षहरूमा केही उल्लेखनीय सुधारहरू भएका छन् । पूर्वाधारको विस्तारः सडक, विद्युत्, सञ्चार, इन्टरनेट आदि क्षेत्रमा क्रमशः सुधार भइरहेको छ । शिक्षा प्रणालीमा गुणस्तरीय संस्थाहरूको उदय पनि भएको छ। केही निजी शैक्षिक संस्थाहरूले अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन थालेका छन् । स्वास्थ्य क्षेत्रमा पनि सुधार भएको छ । निजी क्षेत्रको लगानीले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । साथै, आर्थिक उदारीकरण र उद्यमशीलताको विकास पनि भएको छ । युवाहरू स्टार्टअप, कृषि, ई–कमर्सजस्ता क्षेत्रमा सक्रिय हुँदै गएका छन् ।
युवापलायनका समाधानका उपायहरू रचनाको बेला आएको छ । विभिन्न तालिमहरू दिनु, रोजगारी सिर्जनामा ध्यान दिनु, कृषि, पर्यटन, सूचना प्रविधि, निर्माणलगायतका क्षेत्रमा लगानी गरी देशमै काम गर्ने वातावरण बनाउनु आवश्यक छ । त्यसैगरी प्राविधिक शिक्षामा जोड दिनु पनि आवश्यक भएको छ । शिक्षा प्रणालीलाई व्यावहारिक र सिपमुखी बनाउँदै युवालाई उद्यमशील बनाउनुपर्छ ।
फर्किएका युवाको पुनःस्थापना गर्नु र फर्काउने वातावरण बनाउनुपर्छ । विदेशबाट फर्किएका युवालाई आवश्यक प्रोत्साहन, सहुलियतपूर्ण ऋण, कर छुटजस्ता सुविधा प्रदान गरेर स्वदेशमै काम गर्न प्रेरित गर्नुपर्छ । विदेशमा बस्ने नेपालीलाई संलग्न गराउनु पनि अपरिहार्य भएको छ । नेपालको विकासमा लगानी गर्न, ज्ञान प्रवाह गर्न, तथा सांस्कृतिक सम्पर्क बढाउन भूमिका दिने नीति आवश्यक छ ।
अब राज्यको दायित्व र कर्तव्यमा बोध गराउनुपर्ने बेला आएको छ। नीति निर्माण, पारदर्शिता, जनउत्तरदायित्व, न्यायिक सुधार, सेवा प्रवाहमा सहजता, भ्रष्टाचार नियन्त्रणलगायतका क्षेत्रमा सुधार गर्दै युवामा आशा जगाउनु जरुरी छ ।
साथै, पलायनलाई सम्भावनाको रूपमा लिन सकिन्छ र अब बेला पनि आएको छ । युवाशक्तिको पलायनलाई केवल निराशाको रूपमा होइन, सम्भावनाको रूपमा हेर्न सकिन्छ । विदेश गएका नेपालीहरूले सिकेका सिप, प्रविधि, अनुभव, पुँजीलाई देशको विकासमा उपयोग गर्न सकिन्छ, यदि सरकारले तिनलाई उपयुक्त वातावरण दिन सक्यो भने । पलायनका कारण आज हजारौं नेपालीले प्रविधिमा दक्षता, व्यवस्थापन सिप, उद्यमशील सोच सिकेका छन् । तिनीहरूलाई फर्कन प्रोत्साहन गर्नु, देशमै अवसर सिर्जना गर्नु र उनीहरूको ज्ञान सदुपयोग गर्नु अबको आवश्यकीय कदम हो ।
नेपालजस्तो देश जहाँ जनशक्ति परिश्रमी, लगनशील र सम्भावनायुक्त छ, त्यहाँ जनशक्तिको पलायन एउटा चेतावनी हो । राज्यको विफलतालाई देखाउने ऐना हो । यस समस्याको समाधान तत्कालीन प्रयत्न मात्र होइन, दीर्घकालीन रणनीति चाहिन्छ । देशको समृद्धि युवाको काँधमा छ । ती युवालाई देशमै अवसर दिन सकिएन भने राष्ट्रले आफ्नो भविष्य गुमाउनेछ । तर, यदि सरकार, निजी क्षेत्र र नागरिक समाज मिलेर देशभित्र रहेका सम्भावनालाई उजागर गर्न सक्ने रणनीति तयार गर्छन् भने आज पलायन गरिरहेका युवाहरू भोलिको समृद्ध नेपालको निर्माता बन्न सक्छन् । यसैले, जनशक्तिको पलायनलाई निराशाको होइन, सम्भावनाको खानी मानेर दीर्घकालीन राष्ट्रिय रणनीति बनाउनु आजको आवश्यकता हो ।