काठमाडौँ । भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार जारी सन्देशमार्फत राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरण गर्न नीतिगत तथा भौतिक संरचना सुधार आवश्यक रहेको बताएका छन् । पौडेलले भूकम्प रोक्न नसकिए पनि यसबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न सकिने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताएका हुन् ।
पौडेलले सन्देशमा बढ्दै गइरहेको सहरीकरणले भूकम्पीय जोखिम अझ बढाएको र मानवनिर्मित भौतिक संरचनाले जोखिम बढाएका कारण यसको न्यूनीकरणमा ध्यान दिनुपर्ने बताए । गोरखाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते भूकम्प गएको आज १० वर्ष पूरा भएको छ । राष्ट्रपति पौडेलले उक्त भूकम्पमा परी ज्यान गुमाउनेप्रति गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।