काठमाडौं । भारतको पूर्णियामा भारत–नेपाल साझेदारी शिखर सम्मेलन २०२५ आयोजना गरिएको छ । भारतको द सब हिमालयन रिसर्च इन्स्टिच्युट, पूर्णिया र पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, नयाँदिल्लीद्वारा मंगलबार पूर्णियामा सो सम्मलेन आयोजना गरिएको हो ।
नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिकलगायत सबै क्षेत्रमा कायम रहेको ऐतिहासिक मित्रवत् सम्बन्धलाई थप आयाम दिने अभिप्रायले आयोजित सम्मेलनमा दुवै मुलुकका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सम्मेलनमा नेपालको तर्फबाट मुख्य वक्ताका रूपमा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहसहित नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्रेटेजिक स्टडिजका संस्थापक निर्देशक भाष्कर कोइराला र नेपाल–भारत सामाजिक अभियन्ता प्रवीण नारायण चौधरीको सहभागिता रहेको थियो ।
सम्मेलनमा वरिष्ठ उपाध्यक्ष साहले सबै क्षेत्रमा नेपाल–भारतबीचको सुमधुर, धनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै जानुपर्ने बताए । साथै, सोका लागि आवश्यक रूपरेखाहरू सुझाव समेत प्रस्तुत गरेका थिए ।
सम्मेलनमा आगामी दिनमा नेपालसँगको सामाजिकसहित औद्योगिक, पर्यटन, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रको प्रवद्र्धन एवं विकासार्थ भारतले खेल्नुपर्ने भूमिकाहरूको बारेमा मार्ग चित्रण गरिएको थियो । साथै, नेपाल–भारत द्विपक्षीय व्यापार नीतिहरूको पुनरावलोकन, व्यापार घाटा न्यूनीकरण, लगानी प्रवद्र्धन, द्विपक्षीय र उप–क्षेत्रीय आर्थिक समन्वय विस्तार, सीमावर्ती क्षेत्रहरूको विकास तथा सम्पर्क सुधारलगायतका विषयहरूमा कार्यपत्रसहितको सुझावहरू प्रस्तुत गरिएको थियो ।
सोही अवसरमा मोरङ उद्योग व्यापार संघ र द सब हिमालयन रिसर्च इन्स्टिच्युट, भारतबीच दुवै देशको शैक्षिक र अन्तर विषय अनुसन्धान, सम्पदा दस्तावेजीकरण तथा संरक्षण, सामाजिक विकास र सामुदायिक संलग्नता, सांस्कृतिक र वातावरणीय जागरुकता विद्यार्थी र संकाय आदान–प्रदान, संयुक्त कार्यक्रमहरूको आयोजना गर्नेलगायतका समझदारी–पत्र समेत हस्ताक्षर गरिएको छ ।