काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ७० औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । निवर्तमान गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नेतृत्वविहीन अवस्थामा रहेको राष्ट्र बैंकले कामु गर्भनर डा निलम ढुंगाना तिम्सिनाको अध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
वार्षिकोत्सव कार्यक्रममा राष्ट्र बैंकले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलाई सम्मान गरेको छ । सम्मानित हुने क्षेत्र राष्ट्र बैंकको चौधौँ गभर्नर हुन् । सन् २००९ मा गभर्नर विजयनाथ भट्टराई बर्खास्त हुनासाथ उनी गभर्नरमा नियुक्त भएका थिए ।
वार्षिकोत्सव कार्यक्रममा राष्ट्र बैंककी कामु गभर्नर ढुंगानाले डिजिटल मुद्रा प्रणाली लागू गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन् । उनले आन्तरिक माग अपेक्षित बढ्न नसक्दा चुनौती भएको जानकारी दिँदै बाह्य क्षेत्र (अन्तर्राष्ट्रिय)मा देखिएका चुनौतीले थप जटिल बन्ने बताएकी छन् । पछिल्लो समय मुद्रास्फीति नियन्त्रण, कर्जा विस्तारले लय लिँदै गएकाले यसले अर्थतन्त्र चलायमान हुने धारणा व्यक्त गरिन् । ‘व्याजदर घट्नु, विप्रेषण आप्रवाहमा भएको वृद्धिले पनि आर्थिक क्षेत्र थप सक्रिय हुन्छ,’ उनले भनिन् ।