पछिल्ला दिनमा राष्ट्रिय झण्डाको व्यापक दुरुपयोग भइरहेको पाइएको छ । राष्ट्रिय झण्डा भनेको देशको पहिचान पनि हो । त्यसलाई जोकोहीले पनि दुरुपयोग गर्न मिल्दैन । यो झण्डा भनेको आमनागरिकको साझा सम्मानको विषय पनि हो । तर यतिबेला यसको प्रयोग कुनै दल विशेषको कार्यक्रममा जसरी प्रयोग भइरहेको छ । उसको कार्यक्रम सकिएपछि जसरी फोहोरका कन्टेनरहरूमा फेला पर्न थालेका छन् । त्यो आफैँमा आपत्तिजनक हो । यति मात्र होइन यो झण्डा बोकेर सुरक्षामा खटिएका प्रहरीका बन्दुक खोस्ने, व्यक्तिका घरघर र सम्पत्तिमा आगजनी गर्ने, लुटपाट मच्चाउने काममा पनि झण्डाको प्रयोग गरेको पाइयो । गएको चैत्र १५ को तीनकुने घटना त्यसको सबैभन्दा पछिल्लो उदाहरण हुनुपर्छ । यो प्रकरणमा व्यक्तिका करोडौँ सम्पत्ति नोक्सान भए भने पत्रकारलाई आगो बल्दै गरेको घरमा थुनेर ज्युँदै जलाइयो । यसो गर्नेहरूले राष्ट्रिय झण्डा ओडेका, कसैले गलबन्दी बनाएका थिए । त्यसदिनको राष्ट्रिय झण्डाप्रति यस्तो उद्दण्डता हुँदा पनि यो कार्यक्रमका आयोजकहरूले कुनै जवाफदेही हुनुपरेन भने कसैले प्रश्न पनि सोधेनन् ।
त्यसको ठीक एक महिनापछि राजधानीमा नै एउटा दलले राजनीतिक कार्यक्रमको आयोजना गर्यो । त्यसले सार्वजनिक गरेको सूचनामा त राष्ट्रिय झण्डालाई आफ्नो दलकै झण्डाका रूपमा प्रस्तुत गरेको पाइयो । तीनकुनेको कार्यक्रमजस्तो यो ठाउँमा राष्ट्रिय झण्डालाई हत्यार हिंसाको माध्यम त बनाइएन । तर राष्ट्रिय झण्डाको प्रयोगकर्ता आफ्नो दल मात्र रहेकोजस्तो देखाइयो । यो कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आयोजनामा सम्पन्न भएको थियो । रत्नपार्कको शान्तिवाटिकामा सम्पन्न कार्यक्रमका अघिल्लो दिन वक्तव्य जारी गर्दै भनियो– यो कार्यक्रममा कुनै पार्टीको झण्डामा हुने छैन । पार्टीको नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ । समान विचार भएका दल, समूह, अभियान, संघ–संस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताका लागि पत्राचार गरेका छौँ । सबैको साथ सहयोगको प्रतिबद्धता पाएका छौँ, हामी उत्साहित छौँ । पार्टी अध्यक्षले विभिन्न शीर्ष नेताहरूसँग सम्पर्क, समन्वय गर्नुभएको छ । राप्रपा अध्यक्ष, संयुक्त जनआन्दोलन समितिका संयोजक, राष्ट्रिय शक्ति नेपालका अध्यक्षसँग अध्यक्षज्यूको कुरा भएको छ । आउने बचन दिनुभएको अध्यक्षज्यूबाट जानकारी भएको छ । यसमा कुन दलको उपस्थिति हुने छैन । सवै राष्ट्रबादी हुने छन् ।
यो आन्दोलनको उद्देश्य भने तीनकुने काण्डमा हिंसा मच्चाउनेहरूलाई जोगाउने थियो र आयोजक कुनै एउटा दल थियो भन्ने वक्तव्यमा नै उल्लेख भएको छ । आयोजक दल राप्रपा निर्वाचन आयोगमा विधिवत दर्ताभएको दल हो । त्यसको आफ्नै झण्डा र निर्वाचनचिह्न कायम भएको छ । त्यसले गर्ने कुनै पनि कार्यक्रम उसकै झण्डामुनि हुनुपर्ने हो । ताकि कुनै अप्रिय घटना भए त्यसको जवाफदेही ऊ आफैँ हुनुपर्छ । तर यो ठाउँमा ऊ आफैँ त्यस्तो जवाफ दिनबाट पन्छिएर राष्ट्रिय झण्डाको दुरुपयोग गरेको र राष्ट्रिय झण्डाको दुरुपयोग गरेको र गर्न पाएका देखियो । यसले अब यस्ता कार्यक्रमहरूको आयोजकलाई राष्ट्रिय झण्डाका बारेमा पनि जवाफदेही बनाउनुपर्ने अवस्था प्रकट गर्छ । खासगरी तीनकुने घटनामा त यसका कमाण्डरले विमानस्थल र संसद् भवन कब्जा गर्नू भनेर आफूले आदेश दिएको भनेर सामाजिक सञ्जालमा स्वीकार गरिएको अवस्था छ । यहाँनेर प्रश्न उठ्छ उल्लेखित काम गर्न आह्वान गरिएको हिंसात्मक कार्यक्रम गर्र्नेहरूलाई राष्ट्रिय झण्डा बोक्न पाउने अनुमति कसले दियो ? यो प्रश्नले उत्तर पाउनुपर्छ । यी विवरणहरूले अब राष्ट्रिय झण्डाको दुरुपयोग हुनबाट रोकिहाल्नुपर्ने सन्देश दिन्छ । राज्य चलाउनेहरूको ध्यान जाओस् ।