नयाँदिल्ली । भारत सरकाकरले २०२५ अप्रिलसम्म वस्तु तथा सेवा कर (जीएसटी)बाट दुई दशमलव ३७ लाख करोड भारु सङ्कलन गरेको छ । जुन वार्षिक आधारमा १२ दशमलव छ प्रतिशत बढी हो । जुन अहिलेसम्म जीएसटी सङ्कलनको रेकर्ड हो । यसअघि सन् २०२४ अप्रिलमा भारतले दुई दशमलव १० लाख करोड भारु जीएसटी सङ्कलन गरेको थियो ।
भारत सरकारले घरेलु कारोबारबाट एक दशमलव ९० लाख करोड भारु कर सङ्कलन गरेको छ । जुन वार्षिक आधारमा १० दशमलव ७० प्रतिशतले धेरै हो । सरकारले आयातमार्फत चार खर्ब ६९ अर्ब १३ करोड भारु जीएसटी सङ्कलन गरेको छ । जुन एक वर्षमा २० दशमलव ८० प्रतिशत धेरै हो ।
भारतमा जीएसटी सङ्कलन आर्थिक स्वास्थ्यको महत्वपूर्ण सूचक मानिन्छ । यो शीर्षकमा उच्च कर सङ्कलन हुनुले उपभोक्ताको खर्च क्षमता बलियो रहेको, औद्योगिक गतिविधि र प्रभावकारी कर अनुपालनलाई सङ्केत गर्छ । भारत सरकारले सन् २०१७ जुलाई १ देखि देशभर जीएसटी लागू गरेको थियो । केन्द्र सरकारका १७ वटा र राज्य सरकारका १३ वटा उपकर शीर्षक हटाएर जीएसटी लागू गरिएको थियो ।
जीएसटी एक अप्रत्यक्ष कर हो । जुन सन् २०२७मा भ्याट, सेवा कर, खरिद कर, अन्तःशुल्कजस्ता विभिन्न अप्रत्यक्ष करहरुलाई प्रतिस्थापन गर्न पेस गरेको थियो । जीएसटीमा पाँच प्रतिशत, १२ प्रतिशत, १८ प्रतिशत र २८ प्रतिशत गरी चार स्ल्याबहरु छन् ।
अप्रिल महिनामा प्रायः व्यवसायहरुले मार्चदेखि वर्षको अन्त्यसम्मको कारोबारहरु पेस गर्ने गर्दछन् । जसले गर्दा अप्रिलमा कर दाखिला र सङ्कलनमा वृद्धि हुनेगर्छ ।